सिन्धुपाल्चोक । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका लगातार तेस्रो दिन पनि सञ्चालनमा आउन सकेको छैन।
सोमबार लिपिङ क्षेत्रमा गएको पहिरो र इको तथा डाक्लाङ क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि कोदारी सडकखण्ड अवरुद्ध बनेको हो।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार लिपिङ र डाक्लाङ क्षेत्रमा सडक आंशिक रूपमा खुले पनि इको क्षेत्रमा सडक भासिएकाले यातायात पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। यसको असरस्वरूप स्याउ, सुन्तला, अदुवा, रेडिमेड कपडा तथा अन्य सामग्री बोकेका करिब १५० कन्टेनर सीमामा रोकिएका छन् भने चीनतर्फ पनि करोडौँ रुपैयाँ बराबरका सामानसहित ४५ भन्दा बढी कन्टेनर अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालय चरिकोटले लिपिङ र डाक्लाङ क्षेत्रमा पहिरो हटाएर सडक खुलाइसकेको जनाएको छ। तर इको क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले मर्मत कार्यमा कठिनाइ भएको र सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको कार्यालयको भनाइ छ।
२०७२ सालको भूकम्पपछि पुनःनिर्माण सुरु गरिएको बाह्रबिसे–तातोपानी सडक अझै पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन। रणनीतिक महत्वको यो सडक हरेक वर्ष वर्षायाममा पहिरोका कारण अवरुद्ध हुँदै आएको छ, जसले नेपाल–चीन व्यापारमा बारम्बार असर पुर्याइरहेको छ।
स्थानीय जनप्रतिनिधिहरूले चिनियाँ अनुदान र निर्माण कम्पनीमार्फत काम अघि बढाइए पनि सडकको अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको बताएका छन्। भूकम्पपछि सडक पुनःनिर्माण र पहिरो नियन्त्रणका लागि चीनले ठूलो आर्थिक सहयोग घोषणा गरे पनि धेरै स्थान अझै जोखिमपूर्ण अवस्थामा रहेका छन्।
गत वर्ष पनि पहिरोका कारण तातोपानी नाका करिब तीन महिना बन्द भएको थियो। त्यसपछि पहिरो नियन्त्रणका लागि बजेट विनियोजन गरिए पनि निर्माण कार्य अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। नेपाल र चीनबीच आवश्यक सम्झौता भए पनि कार्यान्वयन प्रक्रिया अझै पूरा हुन बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।
इको क्षेत्रमा भोटेकोशी नदीको कटान निरन्तर भइरहेकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ।
व्यापारीहरूले हरेक वर्ष दोहोरिने सडक अवरोधका कारण व्यापारमा ठूलो क्षति बेहोर्नुपरेको गुनासो गर्दै सरकारले स्थायी समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।