काठमाडौं । सरकारले राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रको सुझावका लागि राजस्व परामर्श समिति गठन गरेको छ ।
राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार विभिन्न उप समिति समेत बनेका छन् । समितिमा अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका पदाधिकारी, निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधि, अर्थ तथा राजस्वविद्हरु अन्य विषयगत विज्ञलगायत रहेका छन् ।
समितिले आगामी आर्थिक वर्षको आर्थिक ऐनमार्फत गरिनुपर्ने कर प्रशासनसँग सम्बन्धित संशोधनका विषयमा सरकारलाई सुझाव दिनेछ ।
सरकारको राजस्व नीति, कर संरचना, अन्तर्राष्ट्रिय कर प्रणाली, कर छुट तथा करमा दोहोरोपनालगायतका विषयमा यो समितिले सुझाव दिनेछ । नयाँ कर कानुन बनाउने, कुनै कानुनी व्यवस्था खारेज गर्नुपर्ने भएमा त्यसको सिफारिस गर्ने र करका दर परिवर्तन गर्नेबारे सुझाव दिनेछ ।
समितिअन्तर्गत विभिन्न विषयगत उपसमितिहरु बनाएर क्षेत्रगत सुझाव लिइने छ ।
राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने तथा नीतिगत सिफारिस पेस गर्ने संरचनाका रुपमा राजस्व परामर्श समिति रहँदै आएको छ ।
FACEBOOK COMMENTS