काठमाडौं । नेपालमा ५३ वटा उद्योगहरू आजदेखि एकसाथ बन्द भएका छन् ।
छिमेकी मुलुक भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपछि इलामका उद्योगीहरूले आजदेखि (असार १ गते) देखि सम्पूर्ण उद्योग बन्द गरेका हुन् ।
भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा विभिन्न प्रकारका गुणस्तर जाँच, जोमिखपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरूका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन अवरोध भएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनले जनाएको छ ।
एसोसिएशनका अनुसार हाल भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदामभित्रै रोकिएको अवस्था छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको छ ।
उनीहरुले भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमूना रिपोर्ट महिनौं दिनसम्म पनि नदिँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उद्योग बन्द गर्न उद्योगीहरू बाध्य भएको एसोसिएशनको भनाइ छ । एसोसिएशनमा ५३ उद्योग आबद्ध छन् ।

‘भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि दिँदैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरू थपिएका छन्,’ एसोसिएशनले भनेको छ, ‘यी अनेकौं समस्याहरूका कारण उद्योगहरूले किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने भयानक अवस्था सिर्जना भएको छ ।’

यस्तो विषम परिस्थितिमा बाध्य भएर उद्योग बन्द गरिएको एसोसिएशनको भनाइ छ ।