काठमाडाैं । एक्कासी घरभित्रबाट निकै जोडले कराएर रोएको आवाज आउँछ । भित्रबाट धेरै मानिसको चिच्याहट सुनिन्छ । रोएको आवाज सुनेर घर बाहिर रहेकी एउटा महिलाले ‘बचाऔँ, बचाऔँ’ भनेर गुहार मागिरहेकी हुन्छिन् । महिलाले गुहार माग्दै गर्दा त्यहाँ नजिक रहेका मानिस पनि हत्तासिएर रोएको दृश्यले धेरैको ध्यान केन्द्रित गराउँछ । वरपर बसेका मानिस हल्लाका आवाज सुनेपछि एक–दुई गर्दै जम्मा हुन्छन् । घटनाका विषयमा स्थानीयले प्रहरीलाई जानकारी दिन्छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विपद उद्धार टोली तत्काल आवश्यक सामग्रीसहित लिएर घटनास्थलमा पुग्छ ।
हतपत्त गरेर उनीहरूले एकातिर भूकम्पले च्यापिएका र अर्कोतिर आगलागीबाट पोलिएका मान्छेहरू उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले दमकलबाट आगो निभाउने र घाइतेलाई जतिसक्दो घर बाहिर निकाल्छ । घटनास्थलमा पुगेका रेडक्रस र स्वास्थ्यकर्मीको टोलीले विपद्का कारण घाइते मानिसलाई उपचारमा तदारुकता देखाउँछ ।वास्तविक एवं अत्यन्तै कहाली र कारुणिक लाग्ने मङ्गलबारको त्यो दृश्य थियो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित घण्टाघर परिसरमा पर्ने खुलाचौरको । यद्यपि यो दृश्य भने सत्य थिएन ।
कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित ‘२५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७९’को अवसरमा प्रदर्शन गरिएको ‘कृत्रिम घटना अभ्यास’ (सिमुलेसन) । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारालाई जीवन व्यवहारमा उतार्न, भूकम्पको जोखिम मानिएका कर्णालीका भौतिक संरचना र यहाँको नागरिकको जीवन सुरक्षा गर्ने उद्देश्यले ‘कृत्रिम घटना अभ्यास’ गरिएको आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानले जानकारी दिए । भूकम्प, बाढी, पहिरो, आगलागीजस्ता प्राकृतिक विपत्ति पर्दा कसरी जोगिने, विपद्पूर्व के गर्ने, विपद्को समय र त्यसभन्दा पछि कसले के गर्नुपर्ने भन्ने तयारीका लागि नेपाली सेना, सशस्त्र प्रहरीको विपद् उद्धार तथा खोज टोलीले कृत्रिम घटना अभ्यासबाट वास्तविक जीवनमा आइपर्ने जोखिमदेखि बच्ने तयारीका विषयमा चेतनामूलक सन्देश दिइएको निमित्त सचिव न्यौपानेले बताए ।
उक्त कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका बिनाविभागीयमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीमा भूकम्पको जोखिम र त्यसले ल्याउने विपद्बाट बचाउन सुरक्षित पूर्वाधारका संरचना निर्माण आवश्यक रहेको बताए । उनले संरचना निर्माणका साथै सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले विपद् जोखिमसँग जुध्न आवश्यक कार्ययोजना र त्यसको प्रभावकारी कार्यान्वयन मुख्य विषय भएको बताए । जनधनको क्षति हुन नदिन विपद् पूर्वतयारी काम र त्यसमा सबै क्षेत्रको समन्वय र सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS