काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र आर्थिक वर्ष २०८१र८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले योजनाहरू अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले भने प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरु मै छोड्न सक्नुपर्छ ।
मन्त्री पाण्डेले मन्त्रालयले मेहनतपूर्वक तयार पारेका योजनाहरूलाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको प्रष्ट पारे । उनले मातहतका महाशाखाहरुलाई सेवाग्राहीका फाइल अल्झन नदिने र सक्रिय भएर काम गर्ने निर्देशन दिए । प्रभावकारी रूपमा काम नगर्ने कर्मचारीलाई अन्यत्र जान सुझाव दिन समेत उनले स्पष्ट पारे ।
समीक्षाका क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० र नेपाल माउन्टेन एकेडेमीको कामको स्वरूप भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको पनि बताए ।
बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायको बजेट र खर्चको स्थिति, सोह्रौँ योजना एवम् वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजनाहरूको प्रगति, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम र बजेट वक्तव्य कार्यान्वयनको अवस्था, प्रमुख उपलब्धी र विद्यमान समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्यहरूसहित उच्च पदाधिकारीहरूको उपस्थिती थियो ।
FACEBOOK COMMENTS