काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरू हुन्छ ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घ्यूउ खाँदा वर्तालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा प्राथमिकताका साथ देखाउन थालिएको छ ।
नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रूपमा खाई शुक्रबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् ।
महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
विकृतिमा रूपान्तरित हुँदैछ तीजको संस्कृति
पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक बढेको गुनासो सुनिन थालेको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् । व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्यपदार्थमा तामसी चीज हुनुले पनि संस्कृतिलाई विकृतितिर लगेको उनको भनाइ छ ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरूले जोड दिएका छन् । महिनौँ अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । यो दिन तोकिनुको कारण तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि भएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।
पछिल्लो समय सरकारीलगायतका कार्यालयमा एक महिनाअघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ । संस्कृतिलाई विकृतिका रूपमा लैजान नागरिकको सरकारी करबाट चलेका संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् भट्टराईको तर्क छ ।
दर खाएर सुरू गरिँदै चार दिने तीज
बिहीबार दर खाएपछि औपचारिक रूपमा सुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरून्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
यस वर्ष भदौ २२ गते शनिबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ २३ गते आइतबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।
हरितालिकाको पौराणिकता
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीजका अवसरमा महिला पुराना साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्छन् । भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्छन् ।
तीज सुरू भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडादशैँ र तिहार नेपालीको घरआँगनमा आउने गर्छ ।
FACEBOOK COMMENTS