काठमाडौं । नेपालको एक नम्बर दाबी गर्ने चर्चित ब्युटी सैलुन ‘फेसियल हाउस’ले ‘महिला सशक्तीकरण विचार गोष्ठी’ आयोजना गरेर २०८० सालको तीज महोत्सव विशेष कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरू र महिला हकहितमा काम गर्ने महिला अधिकारकर्मीहरूलाई सहभागी गराई काठमाडौंको केएल टावरमा बुधबार भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरेको हो ।
राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य पुशुपति शमशेर राणाको प्रमुख आतिथ्यता रहको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी विशेष अतिथि थिइन् । विचार गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन् । कार्यक्रममा उनले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफू पनि सुन्दर हुन फेसियल हाउस आउने गरेको सुनाइन् ।
यस्तै, उनले एउटा फरक प्रसङ्गमा फेसियल हाउसमा सीसी क्यामेरा राख्नु गलत नभएको धारणा व्यक्त गर्दै जहाँ सीसी क्यामेरा राखिएका छन् ती क्षेत्र हरेक कोणबाट सुरक्षित हुने विचार व्यक्त गरिन् । व्यावसायिक हवहरूमा जडित सीसी क्यामेरा सेवाग्राहीकै लागि उपयोगी हुने भनाइ उनको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणाले जबसम्म आर्थिक रूपका सशक्तीकरण हुँदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । उनले राम्रो काम गर्नेको पक्षमा आफू सधैँ रहने गरेको जानकारी गराइन् । उनले फेसियल हाउसले सधैँ राम्रो काम गर्ने गरेको र आफू सधैँ फेसियल हाउसको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
कार्यक्रममा कर्पोरेट खबरका अध्यक्ष उज्वलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए । अहिले निजी क्षेत्रलाई चौतर्फी रूपमा गिराउने कोशिस भइरहेको भन्दै उनले राज्यले उद्योग–व्यवसायको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने विचार व्यक्त गरे । मुलुकमा रोजगारीको पर्याप्त अवसर नभएकै कारण दैनिक हजारौँ युवायुवती रोजगारीका लागि विदेश जाने गरेको भन्दै उनले आफूले जानेको र सकेको सीप प्रयोग गर्दा नेपालमै पनि काम गर्न सकिने अवस्था रहेको चर्चा गरे । कपाल काट्नेलगायत धेरै काम पुरुषले मात्र नभइ महिलाहरूले समेत गर्न सक्ने भन्दै उनले श्रमको सम्मान र पेसाप्रतिको सकारात्मक सोचाई परिवर्तन गर्ने बेला आएको अध्यक्ष शाहको भनाइ थियो ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले आफू सँस्कृति जोगाउन सधैँ लागी पर्ने बताए । उनले आफूले जेलमा बसेको बेलामा पनि गीत लेख्ने र गाउने गरेको जानकारी गराए । कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि खुलासा गरे । नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रूपैयाँ मात्रै रहेको स्मरण गरे ।
कार्यक्रममा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले विस्तारै नेपालको धर्म संस्कृति मासिँदै गएकामा चिन्ता व्यक्त गरे । नेपाल सबै धर्म समेट्ने सनातन हिन्दु राष्ट्र हुनुपर्नेमा उनको जोड थियो ।
प्रमुख अतिथि पशुपति शमशेर जबराले महिला सशक्तीकरण गर्ने कार्यमा नेपालको पार्टीहरू चुक्दै गएको बताए । उनले मलिलाहरूले गरेको काम कारबाहीहरूमा राज्यले संरक्षकको भूमिका निभाउनपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा फेसियल हाउसकी प्रवन्धक तथा वरिष्ट सौन्दर्यविद सुष्मा महराले तीज आउने बित्तिकै महिलाहरू व्यस्त हुने गरेको बताइन् । उनले फरक प्रसङ्गमा गृहका कर्मचारीले अनहाकमा सुरक्षामा राखिएको सीसीटीभीलाई विवाद बनाई गृह प्रशासननै लगाएर व्यवसाय नै सकाउन खोजेको तीतो अनुभव सुनाइन् । उनले आफू् पनि श्रम गर्ने र अरु दिदीबहिनीहरूलाई पनि रोजगार प्रदान गर्दै आएकोमा किन राज्यले नै गिद्दे नजर लगाएको बुझ्न नसकेको बताइन् ।
यसरी अनाहकमा पाउने दु:ख र झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु नै गल्ती हो की भन्ने जस्तो आभाष हुन थालेको दुखेसो उनले पोखिन् ।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबीमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीको जोडीलाई ‘शिव–पार्वती’ अवार्ड प्रदान गरिएको थियो भने नेपाल ब्युटिसियन संघकी पूर्वध्यक्ष भगवती खड्कालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कर्पोरेट खबरका अध्यक्ष उज्जललजंग शाह, नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा, नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी, राप्रपाका नेता पशुपतिशमशेर जबरा, नेपाल ब्युटिसियन संघकी पूर्वध्यक्ष भगवती खड्का, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, स्वतन्त्र कानुन व्यवसाय संघकी अध्यक्ष आकृति रायमाझी तथा महिलाहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS