काठमाडौं । युएईमा तेक्वान्दो क्षेत्रमै आफ्नो पहिचान बनाउँदै आएका अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई संयुक्त राज्य अमेरिकामा हुन लागेको २०२५ वर्ल्ड तेक्वान्दो हानमादाङ प्रतियोगिता सहभागी हुन बिदाई गरिएको छ ।
युएईको आबुधाबीस्थित नेपाली राजदूतावासमा राजदूत तेजबहादुर क्षेत्री तथा दूतावास परिवारले सोमबार उनलाई विशेष कार्यक्रममार्फत बिदाई गरेका हुन् ।
अधिकारी यही जुलाई १७ देखि १९ सम्म अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा आयोजना हुने उक्त प्रतिष्ठित प्रतियोगितामा अफिसियल रेफ्रीको भूमिकामा रहने छन् ।
विगत केही वर्षदेखि युएईको आबुधाबीमा विभिन्न देशका खेलाडीलाई तेक्वान्दो प्रशिक्षण दिँदै आएका अधिकारीले गत मे महिनामा कोरियामा सम्पन्न २०२५ बैकसेओक विश्वविद्यालय राष्ट्रपति कप अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्से विधामा कास्य पदक जितेका थिए । साथै उनले आफ्नो नेतृत्वमा गत वर्ष दक्षिण कोरियामा सम्पन्न विश्व हानमादाङ प्रतियोगितामा युएईका नेपाली खेलाडीलाई पनि सहभागी गराएका थिए ।
लामो समयदेखि तेक्वान्दो खेलमा सक्रिय अधिकारीले अमेरिकाको शिकागोबाट अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स समेत पूरा गरेका छन् । साथै उनले अमेरिकाको नेभाडा राज्यको रेनो स्पार्क कन्भेन्सन सेन्टरमा भएको विश्व वरियताको जी–२ युएस ओपन तेक्वान्दो प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गरेका थिए ।

यसका साथै अधिकारीले दुवईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमको पहलमा आयोजना भएको दुबई फिटनेस च्यालेन्जमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले कराते र बक्सिङ्गका नेपाली प्रशिक्षक तथा खेलाडीलाई पनि अन्तर्राष्ट्रिय स्तरमा सहभागी गराउन अवसर प्रदान गरेका छन् ।
