टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग
कर्पोरट खबर
8:30 pm, बुधबार, भदौ २४, २०८३
- नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
- कम्पनीले बाढीपछि प्रभावित क्षेत्रमा छ करोड बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ।
काठमाडौं । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग गरेको छ । टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको उपस्थितिमा उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले उक्त रकमको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीलगायतको उपस्थिति थियो ।
यसअघि कम्पनीका कर्मचारीका तर्फबाट दुई करोड दुई लाख २६ हजार ६६ को चेकसमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढीपछि नै छ करोड बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको जनाएको छ ।