काठमाडौं, १८ भदौ । पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।चार ठाउँमा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अझै एक जना बेपत्ता छ्न् ।
पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने ७५ वर्षीय कौशिला पौडेल, ३५ वर्षकी भगवती पौडेल, १६ वर्षकी बिमला पौडेल, ११ वर्षीय बिनिता पौडेल र ९ वर्षका विनोद पौडेलको पहिरोमा पुरिएर मृत्यु भएको छ ।कुश्मा नगरपालिका- ११, सिल्मिका मनिलाल पौडेलको घरमा पाहुना गएका आमाछोराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । पाहुना गएका मोदी गाउँपालिका- ७, राम्जा घर भएकी ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेशको मृत्यु भएको हो ।
सोही वडाको पकुवामा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश पौडेलको मृत्यु भएको हो । प्रहरी निरीक्षक अधिकारीका अनुसार मायाकी सासु ७० वर्षकी डल्ली पाध्या बेपत्ता छिन् ।मोदी गाउँपालिका ५ अम्बोटमा पनि एक जनाको मृत्यु भएको छ । स्थानीय ओखलढुंगा सामुदायिक वनबाट टहरामा पहिरो खस्दा पुरिएर ५० वर्षीय फुलमाया थापाको पनि मृत्यु भएको हो ।
FACEBOOK COMMENTS