काठमाडौं । मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आह्वान गरेको छ । जब कि यो अस्पताल स्वास्थ्य सेवामा उत्कृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) को बाटोमा अग्रसर छ। तर, विभिन्न विभाग–शाखा–वार्ड–ओपीडी, युनिटलगायत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।
अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले मेसिनका औजार, तारहरू काटेर मुसाले दुःख दिने गरेको बताए । ‘बिरामीको उपचार गरिने वार्डमै गएर मुसा छिर्यो भने त गाह्रो हुन्छ । मनिटरलगायत मेसिनका तारहरू काट्ने गर्छ’, डा. दासले भने। यसरी कीरा मार्ने काम हरेक वर्ष हुने गरेको डा. दासले बताए ।
‘सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुक दर्तावाला फर्मबाट मासिक रूपमा के कति दररेटमा उक्त कार्य गर्न सक्ने हो सोको गोप्य सिलबन्दी प्रस्ताव १५ (पन्ध्र) दिनभित्र बुझाउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा लेखिएको छ। यो सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिएको छ।
मुसाले भेन्टिलेटर, वायरिङ, सर्भरको तार काटेर दुःख दिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। दिनेश काफ्लेले बताए । कीरा मार्न केही व्यक्तिलाई बोलाए जसरी काम गर्न मन लागेन’, कार्यकारी निर्देशक काफ्लेले भने, ‘प्रतिस्पर्धा र पारदर्शिता होस् भनेर पहिलो पटक सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेका हौं ।’
पूर्वकार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले विगतमा मुसालगायत कीरा मार्न केही व्यक्ति बोलाउने गरिएको सुनाए। ‘पहिले–पहिले केही व्यक्तिहरू बोलाएर मुसालगायतका अन्य कीरा मार्ने काम हुन्थ्यो। प्रस्ताव आह्वान गरिएको थिएन,’ खड्गाले भने। यसअघि सामान्यतः भवनलगायत नयाँ संरचना बनाउन र उपकरणलगायत सामग्री खरिद गर्न अस्पतालले प्रस्ताव आह्वान गर्दै आएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS