ललितपुर। नेपाल टेनिस संघले आउँदो जुलाई १४ देखि मलेशियामा हुने डेभिस कप २०२५ (ग्रुप–४) प्रतियोगिताका लागि नेपाली टोली छनोट गर्ने उद्देश्यले आगामी जुन २ गतेदेखि छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
संघका अनुसार कुल चार जना खेलाडी मलेशियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन्। तीमध्ये एक खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस महासंघ (ITF) वा एटीपी (ATP) को र्याङ्किङका आधारमा प्रत्यक्ष समावेश गरिनेछ भने अर्को खेलाडीलाई राष्ट्रिय र्याङ्किङमा पहिलो स्थानमा रहेका खेलाडीका रूपमा प्रत्यक्ष अवसर दिइने छ। बाँकी दुई स्थानका लागि प्रतिस्पर्धात्मक छनोट खेल आयोजना गरिने संघले जनाएको छ।
यदि कुनै पनि खेलाडीले ITF वा ATP र्याङ्क प्राप्त नगरेको अवस्थामा राष्ट्रिय नम्बर १ खेलाडीलाई प्रत्यक्ष समावेश गरी बाँकी तीन स्थानका लागि प्रतिस्पर्धात्मक छनोट हुनेछ। यसपटक अद्यावधिक राष्ट्रिय सिडिङअनुसार शीर्ष आठ स्थानमा रहेका खेलाडीहरूले छनोट खेलमा सहभागी हुन पाउनेछन्। आवश्यक परेमा उक्त सूचीबाहिरका खेलाडीलाई प्रतिस्थापनका रूपमा अवसर दिइनेछ। साथै नेपालबाहिर रहेका योग्य नेपाली खेलाडीहरूलाई समेत अधिकतम चार जनासम्म आवेदनका आधारमा छनोट खेलमा सहभागी गराइने संघले स्पष्ट पारेको छ।
छनोट प्रतियोगिता ललितपुरस्थित सातदोबाटो टेनिस कम्प्लेक्समा बिहान ८ बजेदेखि सुरु हुनेछ। सहभागी खेलाडीहरूले अनिवार्य रूपमा सोही दिन साइन–इन गर्नुपर्ने संघले जनाएको छ।
त्यस्तै ITF/ATP र्याङ्किङ प्राप्त वा राष्ट्रिय नम्बर १ खेलाडीहरूले भने छनोट प्रतियोगिता सुरु हुनु दुई हप्ता अगाडि अर्थात् २०२५ मे १९ सम्ममा संघमा औपचारिक निवेदन दर्ता गराइसक्नुपर्नेछ। त्यसै मितिसम्मको अद्यावधिक सिडिङलाई आधार मानी छनोट प्रक्रिया सञ्चालन गरिने संघको भनाइ छ।
नेपाल टेनिस संघले यस प्रक्रियामार्फत निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक छनोट सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवका साथ प्रतिनिधित्व गर्न सक्षम टोली पठाउने विश्वास व्यक्त गरेको छ।
FACEBOOK COMMENTS