काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स् कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरू गरेको आधिकारिक जानकारी दिएको छ ।
थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रीहरूलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो ।
थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । स्थानीय बजारको अवस्था राम्रोसँग बुझेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज थाई एयरवेजको लागि एक उत्कृष्ट साझेदार बनेको छ ।
नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो ।
हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएकोछ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् ।
FACEBOOK COMMENTS