काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीच सोमबार र मंगलबार रातभरि झडप जारी रहेको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार, सोमबार र मंगलबार मध्यरातपछि थाई सेनाले सीमा नजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोली चलाएको थियो । कम्बोडियाली रक्षा मन्त्रालयले घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको बताएको छ ।
दुई देशबीचको पछिल्लो द्वन्द्वमा मृत्यु हुनेको कुल संख्या छ पुगेको छ । यसअघि सोमबार थाइल्याण्डले आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो । पछिल्लो द्वन्द्वको लागि दुवै देशले एकअर्कालाई दोष लगाइरहेका छन् । जुलाईमा युद्धविराम भएयता दुई देशबीचको यो सबैभन्दा गम्भीर द्वन्द्व हो ।
जुलाईमा दुई देशहरू बीच तनाव उत्पन्न भएको थियो, जसमा पाँच दिनको द्वन्द्व भयो । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र ट्रम्पले मध्यस्थता गरेपछि युद्धविराम भएको थियो ।
अक्टोबरमा, दुई देशहरूले क्वालालम्पुरमा विस्तारित शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जुलाईको द्वन्द्वमा ४८ जनाको मृत्यु भयो र लगभग ३ लाख अस्थायी रूपमा विस्थापित भएका थिए ।

थाईल्याण्ड र कम्बोडिया बीचको ८१७ किलोमिटर लामो भूमि सीमा एक शताब्दी भन्दा बढी समयदेखि विवादको रूपमा रहेको छ ।

यस सीमाका केही भागहरूमा सार्वभौमिकता विवादित छ । यो सीमा पहिलो पटक १९०७ मा फ्रान्सले नक्साङ्कन गरेको थियो, जब यसले कम्बोडियामा शासन गथ्र्यो । त्यसबेलादेखि तनाव धेरै पटक भड्किएको छ । २०११ मा एक हप्ता लामो बन्दुक युद्ध भयो । यद्यपि, दुवै देशहरूले शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।

FACEBOOK COMMENTS