काठमाडौँ । भारतको तमिलनाडुमा हुन लागेको विधानसभा निर्वाचनका लागि तयारी तीव्र भइरहेका बेला अभिनेता तथा विजय थलापतिले उम्मेदवारी दर्ता गरेका छन् ।
उनले पेरम्बूर र त्रिची पूर्व गरी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका हुन् । उम्मेदवार दर्ता गर्दा विजयले निर्वाचन आयोगमा बुझाएको विवरणबाट उनको कुल सम्पत्तिको खुलासा भएको छ ।
भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार विजयको कुल सम्पत्ति करिब ६०३ करोड भारु रहेको छ । जसमा करिब ४०४ करोड भारु चल सम्पत्ति र झण्डै १९८ करोड अचल सम्पत्ति रहेको उल्लेख छ । अचल सम्पत्तिमा कोडाइकनालस्थित कृषि जमिन तथा चेन्नईका विभिन्न स्थानमा रहेका व्यापारिक र आवासीय सम्पत्ति समावेश छन् ।
उनको नाममा केही करसम्बन्धी विवाद पनि देखिएको छ, जसअन्तर्गत विभिन्न आर्थिक वर्षका मुद्दा अझै सम्बन्धित निकायमा विचाराधीन छन् । साथै, उनको बैंक खातामा २१३ करोडभन्दा बढी रकम मौज्दात रहेको जनाइएको छ ।
विजयसँग महँगा सवारी साधनहरूको संग्रह पनि रहेको छ, जसमा विभिन्न विलासी गाडी समावेश छन् । त्यस्तै, उनीसँग करिब ८८३ ग्राम सुन र १५ लाख बराबरको चाँदीका सामग्री रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०२४/२५ मा उनले करिब १८४ करोड आम्दानी देखाएका छन् ।

उनले बैंक वा वित्तीय संस्थासँग कुनै बक्यौता नरहेको जनाएका छन् । तर उनले आफ्ना परिवारका सदस्य तथा केही व्यक्तिलाई व्यक्तिगत ऋण र अग्रिमका रूपमा ठूलो रकम उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस्तै, उनकी पत्नी संगीताको नाममा करिब १५ करोड ७६ लाख बराबरको सम्पत्ति रहेको खुलाइएको छ ।

यससँगै आगामी निर्वाचनमा विजयको राजनीतिक प्रवेश र उनको आर्थिक हैसियतले व्यापक चर्चा पाएको छ । अभिनेता विजयले अब अभिनयबाट विश्राम लिएर तमिलगा वेत्री कजगम नामको पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् ।
FACEBOOK COMMENTS