काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं संस्करणको ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरू हुँदै छ । अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर एण्ड एआई प्रजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रियस्तरको व्यापार मेला गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । सूचना प्रविधिको विकाससँगै चेम्बर एक्स्पोको आर्कषणका रूपमा यो वर्ष सफ्टवेयर एण्ड एआई प्रजेक्ट स्टलका रूपमा रहनु सवैभन्दा महत्त्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको ब्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए ।
व्यापार तथा निकासी प्रर्वर्द्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले देशभित्र खपत हुने सफ्टवेयरहरूको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले बताए ।
चेम्बर अफ कमर्सका सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा योपटक आईटी उत्पादनहरूलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडाका सामानहरू, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू, लजिष्टिक्स, टेक्सटाइल, फर्निचर, गार्मेन्ट, छालाका सामान, गरगहनाका सामानहरू, सौन्दर्य प्रसाधन, खाद्य र दुग्धजन्य उत्पादनहरू आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाइल्याण्ड, यूएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रर्दशनी र व्यवसायीहरूले सहभागिता जनाउने छन् ।
स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिने छन् । ५ दिन सम्म चल्ने एक्स्पो कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरका रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरका रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरका रूपमा वर्ल्ड लिंक तथा एजुकेशन पार्टनरका रूपमा सफ्टवेरिका कलेज, सनवे कलेज रहेका छन् । अटो पेवेलियन, स्वदेशी खानाका परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS