काठमाडौं । मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा आएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आव २०७६–७७ मा शोधनान्तर स्थितिमा २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो । तर, जेठ मसान्तसम्म शोधनान्तर १५ अर्ब १५ करोडले घाटामा गएको थियो । असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति पुनः बचतमा आएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले असारमसान्तसम्म शोधनान्तर स्थिति बचतमा आएको बताए । ‘गत जेठसम्म आउँदा शोधनान्तर स्थिति घाटामा गएको थियो । तर, त्यो एकदम कम थियो,’ उनले भने, ‘शोधनान्तर घाटा कम हुँदा तत्काल बचतमा पुगेको हो ।’
गत आवको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले मुलुकको समग्र वित्तीय स्थिति सकारात्मक देखिएको छ । कोरोना महामारीका बीच पनि गत आवको वित्तीय स्थिति सन्तोषजनक रहेको ढकालले बताए ।
गत आवमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) प्रक्षेपणभन्दा कम देखिएको छ । राष्ट्र बैंकले गत आवमा उपभोक्ता मुद्रास्फीति औसतमा ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गर्ने बताएको थियो । तर, गत आवमा वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आवमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको थियो । चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिइएको छ । २०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो ।
गत आवमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७ दशमलव ५४ प्रतिशत, १० दशमलव ६५ प्रतिशत, ९ दशलव ८३ प्रतिशत र ६ दशमलव ४१ प्रतिशत रहेको छ । गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ८ दशमलव १६ प्रतिशत रहेको थियो ।
गत आवको अन्त्यसम्म आउँदा चालू खाता घाटा बढेर रू। ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्ष चालू खाता रू। ३३ अर्ब ७६ करोड घाटमा थियो । मङ्सिरबाट घाटामा जान थालेका चालू खाता असारसम्म आउँदा ≈वात्तै बढेको हो । पछिल्लो समय चालू खाता घाटा चुलिँदै गएको तथ्यांकले देखाएको छ । गत आवमा प्रत्यक्ष वैदेशिक लगानी शून्य दशमलव २ प्रतिशतले बढेको छ । गत आवमा रू। १९ अर्ब ५१ करोड बैदशिक लगानी आएको राष्ट्र बैंकको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS