काठमाडौं । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले ३५ करोडभन्दा माथिको कारोबार गर्ने व्यवसायहरुको इन्टिग्रेशन सफ्टवेयरमा इन्ट्री गरेपछि भंसार कार्यालय, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग तीनवटै निकायमा उक्त सूचना प्रवाह हुने गरी सफ्टवेयर इन्टीग्रेशन गर्नुपर्ने माग गरेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँगको भेटमा अध्यक्ष गुप्ताले यस्तो माग गरेका हुन् । भेटमा अध्यक्ष डा. गुप्ताले व्यापार व्यवसाय कारोबारको सिलसिलामा भएको त्रुटीका कारण हुने अपराधमा अन्य अपराधिक क्रियाकलाप गरेसरह थुनछेक गर्ने लगायतको सजाय नगरी वित्तीय अपराध सरहको सजाय हुनुपर्ने आग्रह गरे ।
उनले राजस्व अनुसन्धान विभागले मात्रै मालवाहक सवारी साधनलाई चेकजाँच गर्ने गरेको र प्रहरी लगायत अन्य कुनै पनि निकायले मालवाहक सवारी साधन चेकजाँच गर्न नपाउने गरी प्रावधान लागु गर्न आग्रह गरे ।
अध्यक्ष डा. गुप्ताले भिसिटिएस भर्दा वा त्यससँग सम्बन्धित त्रुटी भएमा सोमा गरिने जरिवाना न्यून हुनुपर्ने माग समेत राखेका छन्ु । भिसिटिएस बारे निजीक्षेत्र अझ पनि जानकार नरहेको भन्दै विभागबाट समय समयमा कार्यशाला गोष्ठिको आयोजना गरिनु पर्ने, र साना तिना व्यवसायको हकमा भिसिटिएस भर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउनुपर्ने, सरकारी कार्यालयहरुबीच आपसी समन्वय र सहकार्यको अभावमा व्यवसायीहरु विभिन्न झण्झट र जटिलता व्यहोर्नुपरेकोले अन्तर सरकारी निकायहरुबीच समन्वय हुनुपर्नेमा जोड दिए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले सङ्घबाट आएका सुझावलाई आफुले सकारात्मक रुपमा लिएको बताए । उनले राजस्व अनुसन्धान सम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिए । उद्योगी व्यवसायीहरुलाई भिसिटिएस बारे जानकारी दिलाउन मोफसलमा तालिम सञ्चालन गर्ने बताए ।
FACEBOOK COMMENTS