काठमाडौँ । शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ ।
कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो ।
कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भीरमा पहिरो खस्दा शनिरबार देखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । “पहिराका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमितरूपमा सुचारु भएको छ”, उनले भने, “वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।”
कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए । “भिरालो ठाउँबाट सडक खनिएका कारणले सधैँ पहिरो जाने गर्छ”, उनले भने, “पहिराका कारणले सधैँ सास्ती हुने गरेको छ ।”
कर्णाली करिडोर स्तरोन्नति नहुँदा हिउँद र वर्षायाममा पहिरो जाँदा हुने समस्याका कारण सडक डिभिजन कार्यालय जुम्ला र हुम्लालाई सडक स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले आग्रह गरे ।
FACEBOOK COMMENTS