काठमाडौं । द ब्रिटिस कलेजले हालै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा कलेजविरुद्ध फैलाइएका भ्रामक सूचना र आरोपबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले एक प्रेस विज्ञप्ति जारी गर्दै संस्थाको प्रतिष्ठामा आँच पुर्यााउने उद्देश्यले लगाइएका आरोप तथ्यहीन र बदनियतपूर्ण रहेको स्पष्ट पारेको छ ।
कलेजका अनुसार कलेजले हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीलाई दुबईमा हायर नेशनल डिप्लोमा अध्ययन गर्ने र त्यसपछि बेलायत वा अस्ट्रेलियामा टप–अप डिग्री गर्ने व्यवस्था मिलाएको बताएको छ । दुबई जाने विद्यार्थीका लागि सुरुवाती चरणमा तेस्रो पक्ष सेवाप्रदायकमार्फत अस्थायी आवासको व्यवस्था गरिने र पछि विद्यार्थी आफैँले व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको कलेजको भनाइ छ ।
“विद्यार्थीहरूलाई इन्टनसिपको अवसर प्रदान गरिएको थियो, जसको सुरुवात डिसेम्बर १, २०२५ बाट हुने तय गरिएको थियो । विद्यार्थीहरू नेपाल फर्किएपछि कलेजले विद्यार्थी तथा अभिभावकहरूसँग तुरुन्तै औपचारिक परामर्श प्रक्रिया सुरु गरेको थियो,” विज्ञप्तिमा उल्लेख छ । साथै, छलफल पारदर्शी, सम्मानजनक र रचनात्मक वातावरणमा सम्पन्न गरिएको कलेजको भनाइ छ ।
कलेजले प्रस्ट्याउँदै दुबई जाने विद्यार्थीहरूलाई प्रारम्भिक आगमन र बसोबास सहज बनाउन तेस्रो पक्ष सेवा प्रदायक मार्फत अस्थायी आवासको व्यवस्था हुने बताएको छ । “यी व्यवस्था छोटो अवधिका लागि मात्र हुने कुरा स्पष्ट रूपमा जानकारी गराइएको तथा सम्झौतामा उल्लेख गरिएको थियो । उक्त प्रारम्भिक अवधिपछि विद्यार्थीहरूले आफ्नो दीर्घकालीन आवासको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ, जुन अन्तर्राष्ट्रिय अध्ययन तथा आवागमनका सामान्य अभ्यासअनुसार हो । कुनै पनि अवस्थामा विद्यार्थीहरूलाई बेवास्ता गरिएको, बेघर बनाइएको वा अलपत्र पारिएको छैन ।
यसबारे गरिएका सबै दाबीहरू पूर्ण रूपमा झुटो, असत्य, भ्रामक र तथ्यहीन हुन्,” विज्ञप्तिमार्फत भनिएको छ । आरोपको खण्डन गर्दै कलेजमाथि लगाइएका मानव तस्करी वा शोषणजस्ता आरोपलाई कलेजले ती दाबी मानहानीपूर्ण र निन्दनीय रहेको बताएको छ । मंसिर २३, पुस ७ र ८ गतेका दिन कलेजमा केही बाह्य समूह र भर्ना नभएका व्यक्तिहरूले अनधिकृत भिडियो बनाउने, तोडफोड गर्ने र कर्मचारीलाई दुव्र्यवहार गर्ने कार्य पनि गरेको कलेजले जनाएको छ । पटकपटक संवादका लागि आह्वान गर्दा पनि विद्यार्थीहरू सहभागी नभएपछि सुरक्षा निकायको सहयोग लिनुपरेको कलेजको प्रस्टीकरण छ ।
“द ब्रिटिस कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीसम्बन्धी सबै आरोपलाई कलेज पूर्ण रूपमा अस्वीकार गर्दछ । यस्ता आरोपहरू पूर्णत: असत्य, आधारहीन र मानहानीपूर्ण रहेका छन् । शिक्षण संस्था जस्तो प्रतिष्ठित र जिम्मेवार संस्थामाथि यस्ता भ्रामक र अपुष्ट आरोप लगाइनु निन्दनीय कार्य हो । कलेज आफ्नो शैक्षिक, कानूनी तथा नैतिक मापदण्डप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्दछ,” जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । शैक्षिक निरन्तरता र प्रतिबद्धता हाल कलेजका सबै शैक्षिक कार्यक्रम, पठनपाठन र परीक्षाहरू निर्धारित तालिका अनुसार नै सुचारु रहेको कलेजले जनाएको छ ।

FACEBOOK COMMENTS