चलचित्र विकास बोर्डका अध्यक्ष केसीलाई आयोगले सोध्यो स्पष्टीकरण
कर्पोरट खबर
8:35 pm, बिहीबार, कात्तिक २४, २०७९
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईँ सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ,’केसीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।
आयोगले सोधेको स्पष्टीकरणमा थप भनिएको छ, ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ख) मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने” व्यवस्था छ । उल्लेखित कानुनी व्यवस्था रहेको सम्बन्धमा तपाईँले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेस गर्नुहुन निर्णयअनुसार अनुरोध छ ।’
यसका साथै आयोगले चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होइन भन्ने आधार प्रमाण के छ ? भन्दै प्रश्नसमेत गरेको छ ।
सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘तपाईँ राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनुभएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?
तपाईँ सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान रूपमा निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचारप्रसार गर्नुभएको ठहर भएमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाही समेत हुनसक्ने भएकोले तपाईँ उपर उक्त कारबाही किन हुनु नपर्ने हो ?’
FACEBOOK COMMENTS