काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको छ ।
बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।
सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको थियो ।
तर, ६ महिनाको अवधिमा लक्ष्यअनुसार राजस्व संकलन नहुनुका साथैं बजेट खर्च नभएपछि अर्धवार्षिक समीक्षा मार्फत आर्थिक वृद्धिको लक्ष्य घटाइएको थियो।
कार्यालयले अन्तर्राष्ट्रिय बहुपक्षीय दातृ संस्था अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियायी विकास बैंक र विश्व बैंकलेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको हो ।
योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।
FACEBOOK COMMENTS