काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती सत्तापक्ष र प्रतिपक्ष मिलेर समाधान गर्नुपर्ने बताएका छन्।
बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन्।
उनले अर्थतन्त्रमा कसरी समस्या देखिएका समस्याको समाधानका उपायको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
मुलुकको अर्थतन्त्रलाई गतिदिनको लागि सत्तापक्ष र विपक्ष मिलेर साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने विषयमा सहमत रहेको उनको भनाइ थियो।
सदनमा सदस्यहरुले भनेको जस्तो अर्थतन्त्र कहालिलाग्दो अवस्थामा नभएको भन्दै अर्थमन्त्री महतले सरकारले अर्थतन्त्र सुधार उन्मुख गराउन सक्ने अवस्थामा रहेको दाबी गरे।
अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्ने ठोस प्रतिवद्धता सरकारसँग रहेको बताउँदै उनले अर्थतन्त्र सुधारको लागि सबैले धैर्य गर्न आवश्यक पर्ने औंल्याएका थिए।
‘सिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने होइन। सरकार सम्पूर्ण रुपमा इमान्दारिताका साथ क्षमता र योग्यताले भ्याएसम्म काम गरिरहेको छ,’ उनले भने।
FACEBOOK COMMENTS