काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा विस्तारै सकारात्मक सूचक देखिन थालेको बताएका छन्। बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’
मन्त्री महतले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरु अहिले कार्यान्वयनको क्रममा रहेको भन्दै सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको बताए ।
महतले भने, ‘स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिनेगरी नयाँ मापदण्ड जारी गरिएको छ, जसमा चालु आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले आयोजनाको प्राथमिकीकरण हुनुका साथै भविष्यमा सिर्जना हुन सक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ । त्यसैगरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ ।’
मन्त्री महतले अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको पनि बताए । जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्ति स्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको पनि अर्थमन्त्री महतले बताए । उनले भने, ‘विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको र यसमा विकास साझेदारहरु सहमत भएकोले आगामी दिनमा यसको नतिजा आउने स्थिति बनेको छ, ।’
मन्त्री डा. महतले राजस्व परिचालनमा पनि क्रमश: सुधार देखिएको दाबी गरे । बजेटमार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ कर आधार विस्तार र दरमा गरिएको औचित्यपूर्ण परिवर्तन र राजस्व चुहावट नियन्त्रण गर्न गरिएका प्रयासले परिणाम देखिन थालेको उनको भनाइ छ ।
अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच उच्चस्तरीय छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको बताए । उनले भने ‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ । सार्वजनिक संस्थान सुधारका लागि निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ, ।’
FACEBOOK COMMENTS