काठमाडौं । आइतबार मध्यराति काठमाडौं उपत्यकाको आकाशमा गड्याङगुडुङ सुनियो । सामान्यतः मनसुनको समयमा पानी पर्दा यस्तो आवाज सुनिदैन । प्रि–मनसुनमा भने गड्याङगुडुङ हुन्छ ।
तर, अप्रत्यासित रूपमा सुनिएको गड्याङगुडुङसहितको आवाजपछि परेको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न भागलाई डुबायो । कयौंलाई उद्धार गर्नुपर्ने अवस्था आइलाग्यो ।
त्यसो त मौसम पूर्वानुमान महाशाखाले आइतबार राति र सोमबार काठमाडौं उपत्यकामा भारी वर्षा हुने कुनै जानकारी गराएको थिएन । महाशाखाले यो विषयमा कुनै संकेत पाउन पनि सकेको थिएन । तर, भयो उल्टो । राति साढे २ बजेदेखि बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन हुनेगरी वर्षा भयो । काठमाडौंमा केही घन्टा यति धेरै पानी पर्नु विरलै घटना हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थल केन्द्रमा आइतबार राति १ बजेदेखि सोमबार साँझसम्मको अवधिमा १२१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । यसलाई मौसमविद्हरू ‘अति भारी’ वर्षा भएको बताउँछन् । मनसुन बाहिरिने समय नजिकिँदै गर्दा सेप्टेम्बर महिनामा यति धेरै वर्षा भएको पहिलोपटक हो ।
‘यसअघि सन् २००८ को सेप्टेम्बर १२ मा ८४.३ मिलिमिटर पानी परेको रेकर्ड छ । गएरातिदेखिको वर्षा रेकर्ड ब्रेक नै हो,’ मौसमविद् निराजन सापकोटाले भने । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबार राति साढे २ बजेदेखि पानी पर्न थाल्यो, सोमबार बिहानैसम्म पानी परिरह्यो ।
‘राति गड्याङगुडुङ पनि भएको थियो, सामान्यतः मनसुनको बेला पानी पर्दा त्यसरी गड्याङगुडुङ हुँदैन । प्रि–मनसुनमा यस्तो हुन्छ,’ मौसमविद् अर्यालले भने । आखिर कसरी काठमाडौं उपत्यकामा नसोचेको पानी प(यो त ? मौसविद् अर्याल भन्छन्, ‘अहिले बंगालको खाडीको उत्तर–पश्चिम भूभागमा बनेको न्यून चापीय रेखाबाट आएको जलवाष्प र यहाँको स्थानीय वायुको असरले त्यस्तो भएको हो ।’
भारी वर्षा भएसँगै बाग्मती नदीमा जल सतह बढेको थियो । यसबाट नदीछेउका बस्तीहरूमा डुबानमा परे । बल्खुस्थित तरकारी बजारमा पानी पस्यो । बाग्मती कोरिडोरको बाटो पनि डुबानमा पर्यो ।
मौसमविद् अर्यालका अनुसार सोमबार बाग्मती प्रदेशभरि वर्षा भएको थियो । काठमाडौं उपत्यका मात्र सोमबार बिहानसम्म लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो ।
‘कर्णाली र सुदूरपश्चिमबाहेक अरू प्रदेशमा यो प्रणालीको असर देखिन्छ,’ मौसमविद् अर्यालले भने । विरल वर्षापछि आएको बाढीले काठमाडौंमा ३ सय ८२ घर डुबानमा परेका छन् । भारी वर्षाका कारण कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमूललगायत क्षेत्र डुबानमा परेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बाग्मती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसको उद्धार गरिएको बताए ।
छोटो समयमै अत्यधिक वर्षा भएकाले बाढी आएको र केही बस्ती डुबानमा परेको मौसमविद्को भनाइ छ । तर, यो वर्षालाई जल तथा मौसम विज्ञान विभागले अस्वाभाविक मानेको छैन । विभागका निर्देशक सरजुकुमार वैद्यले भने, ‘प्राकृतिक रूपले यो विषम चाहिँ होइन तर, यही कुरा समाचारको विषय बनिरहेको छ ।’
यसैगरी, काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर–पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारीसाधनसमेत पार गर्न समस्या छ । पुण्यमाता खोलाको बाढीले राति ३ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS