काठमाडौं । ललितपुरको जावलाखेल फूटबल मैदानमा असोज २९ गतेदेखि जारी ‘१८औं गोदावरी पुष्प प्रदर्शनी, २०८२’ मा दैनिक अवालेकनकर्ताहरूको बाक्लो भीड लाग्ने गरेको छ ।
फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा जारी प्रदर्शनीमा दैनिक एक लाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको पुष्प व्यवसायी बलराम कार्कीले बताए ।
उनले भने, ‘पुष्प प्रदर्शनी विशेषगरी व्यापारलाई प्रवर्द्धन गर्ने र ग्राहकले सहज र सुलभ रूपमा एकै स्थानमा धेरै थरीका फूल किन्न सकून् भन्ने उद्देश्यका साथ आयोजना गरिन्छ । प्रदर्शनीले फूलको बजारीकरण गर्न धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ । सोचेअनुसारको व्यापार पनि भइरहेको छ ।’
कात्तिक २ गतेसम्म चल्ने प्रदर्शनीमा सञ्जीवनी नर्सरीको स्टलमा विभिन्न प्रकारका फूलहरू, खासगरी गोदावरीका ५०/६० प्रजातिहरू राखिएको उनले सुनाए ।
पुष्प व्यवसायी कार्कीले आफूहरूको स्टलमा मूल्य ५० रुपैयाँदेखि दश हजार रुपैयाँसम्मको गोदावरी फूलका प्रजाति उपलब्ध रहेको जानकारी दिए ।

तर, नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहेन पनि सरकारले यसलाई नजरअन्दाज गर्दै आएको उनको गुनासो छ ।

‘नेपालमा सरकारी निकायबाट यस्ता मेलाहरूको आयोजना नै हुँदैन । अहिलेसम्म व्यवसायीहरू स्वयंले नै आयोजना गर्दै आएका छौं । फूल उत्पादन गरेर मात्र हुँदैन, बजारसम्म पुर्याउनु पनि पर्छ,’ उनले भने, ‘सरकारले केही नगरे पनि यस्तो प्रदर्शनीले व्यवसायलाई ‘प्रमोट’ गर्न र बजारसम्म पुर्याउन ठूलो सहयोग पुर्याएको छ ।’

गोदावरी फूलले नेपालको हिन्दु परम्परामा विशेष महत्त्व राख्दछ र तिहारको समयमा यसको माग अत्यधिक हुन्छ । गोदावरी फूल घर सजावटका लागि पनि प्रचलित छ र यसका विभिन्न प्रजातिहरू नेपालमै उत्पादन हुन्छ ।

नेपालमा विदेशी उत्पादनका फूलहरू भित्रिने गरे नेपाली उत्पादन नै सस्तो र गुणस्तरीय रहेकाले यसको प्रवर्द्धनका लागि सरकारी सहयोग आवश्यकता रहेको व्यवसायी कार्कीले बताए ।

हेर्नुहोस् भिडिओ–
यी सामग्रीहरू पनि पढ्नुहोस्–
पुष्प व्यवसायको भविष्य उज्ज्वल, सरकारी सहयोगको आवश्यकता (भिडिओ)
पाँच सय थरीका फूलले सुसज्जित ‘गोदावरी पुष्प प्रदर्शनी’ (फोटो फिचर)
पुष्प व्यवसायको भविष्य उज्ज्वल, सरकारी सहयोगको आवश्यकता (भिडिओ)
FACEBOOK COMMENTS