३१ असोज, काठमाडौं । दशैं बिदा पछि कारोबार खुला भएको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ ।
सरकारले दशैँको लागि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको हुनाले असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहको थियो । यसअघि दशैँ बिदा अघिको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा रोकिएको थियो ।
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कारोबारमा भने उल्लास देखिएन । कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहको सेयर बढेको छ ।
आइतबार नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ३२ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ६.९७ प्रतिशतले बढेर एक हजार ३ सय ५० रूपैयाँ पुगेको छ ।
त्यसैगरी, आइतबार सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।
FACEBOOK COMMENTS