काठमाडौँ । नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।
विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक/दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजना भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । शुक्रबारबाट प्रेमगीत ३ हिन्दी भर्सन रिलिज नहुनुको थप कारण पछि जानकारी गराउने बताएका उनले घटस्थापन (१० असोज) देखि प्रेमगीत ३ हिन्दी भर्सन नेपालभर प्रदर्शन हुने बताए ।
उता भारतमा भने प्रेमगीत ३ हिन्दी भर्सन शुक्रबार नै रिलिज हुनेछ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्देशक सेनले जानकारी दिए ।
चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।
केही दिनका लागि शो हाउस फुल हुने गरी टिकट बुकिङ भइसकेको र बुकिङमा भारतीय दर्शकको उत्साह देखिएको उनले बताए ।
भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको प्रेम गीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
FACEBOOK COMMENTS