काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् ।
यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १ सय ५८ जना भेन्टिलेटरमा र ७ सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र वीर अस्पतालमा आठ÷आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११, पाटन अस्पताल ललितपुरमा तीन, निजामती कर्मचारी अस्पतालमा एक र धुलिखेल अस्पतालमा चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रदेश १ मा १ सय ४१ जना आईसीयू र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा तीन जना आईसीयूमा, बाग्मती प्रदेशमा ५ सय १९ आईसीयू र १ सय ४ जना भेन्टिेलेटरमा उपचाररत रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा ६५ जना आईसीयू र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र १७ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा आठ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
केही दिनयता कोरोना संक्रमित मृत्युदर बढेको पाइएको छ । आइतबार ५९ दिनयता सबैभन्दा उच्च संक्रमित ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यसअघि गत २९ जेठमा ६१ संक्रमितको मृत्यु भएको थियो ।
पछिल्लो एक सातालाई आधार मान्दा दैनिक ३१ संक्रमितको मृत्यु हुने गरेको छ । गत सोमबारदेखि आइतबारसम्म २ सय १८ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार २३, मंगलबार २४, बुधबार ३५, बिहीबार ३७ संक्रमितको मृत्यु भएको छ ।
यस्तै, शुक्रबार २५ र शनिबार १९ संक्रमितको मृत्यु भएको तथ्याकंले देखाउँछ । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।
यस्तै, देशभर आइतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ९ हजार ३३ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा २ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, ३ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । थप भएका संक्रमितमध्ये सबैभन्दा धेरै ७ सय ४० जना काठमाडौंका छन् । यस्तै, भक्तपुरका ५६ र ललितपुरका १ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
सशस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रवीण नेपाल सो अस्पतालमा बेडभन्दा बढी बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आएको बताए । सो अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ९० बेड छुट्याइएको छ । उनले नयाँ बिरामी आएको अवस्थामा फर्कोउनुपर्ने अवस्था आएको जनाए । कोरोना संक्रमणको दोस्रो लहरका बेला सो अस्पतालले २ सय ८० भन्दा बढी बेड खडा गरेर उपचार गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS