काठमाडौँ । चालीस वर्षदेखि कार्यरत वरिष्ठ मानसिक रोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका अनुसार शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । यसमा केही खाद्यवस्तुको विशेष भूमिका रहन्छ ।
सूक्ष्म पोषण तत्त्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खानाले विशेष रूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरीरमा एकैचोटि चिनीको मात्रा नबढाउने, ताजा खाद्यपदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छ । अर्थात् विभिन्न थरीका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजन मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्छ । त्यसैगरी विभिन्न फलफूल जस्तैः सुन्तला, जुनार, अम्बा, विभिन्न प्रकारका बेरीहरू जस्तैः काफल, एैँसेलु, स्ट्रबेरीजस्ता फलफूलमा शरीरमा एन्टिअक्सिडेन्ट (बढौती हुने प्रक्रिया न्यूनीकरण गर्ने) तत्त्व, रेशादार पदार्थ हुन्छन् । यी तत्त्वहरूले मानसिक स्वास्थ्य सबल राख्न भूमिका खेल्छन् ।
त्यसैगरी तरकारीमा ब्रोकली, काउली, मुला आदि जस्ता तरकारी पनि महत्त्वपूर्ण मानिन्छन् । गाढा हरियो पात, रङ्गीन तरकारी जस्तैः फर्सी, चुकन्दर, रातो बन्दा आदिमा पर्याप्त मात्रामा फाइटोकेमिकल (एक रसायन जुन मस्तिष्कका लागि उपयोगी) हुन्छ पाइन्छ, जसले मानसिक स्वास्थ्यमा सकरात्मक असर पार्छ । स्वस्थकर खानाको चर्चा गर्दा वैज्ञानिक रूपमा महत्त्वपूर्ण कुरा सुरूआत भएको छ । मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीलाई ओखर, विभिन्न बियाँ (आलस, तिल, फर्सीको बियाँ), रङ्गीन दलहन र कालो दाल, रातो दाल, मुगे दाल प्रयोग गर्ने सल्लाह दिइन्छ ।
डा शर्माको भनाइले स्पष्ट हुन्छ कि प्रायः मानसिक स्वास्थ्य सबल राख्न पनि त्यस्ता भोजनले भूमिका खेल्छन् जुन भोजनले मुटु, कलेजो, पाचन प्रणाली स्वस्थ राख्छन् । यसलाई विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । डा शर्माको भनाइअनुसार मस्तिष्कका लागि भिटामिन ‘बी १२’, भिटामिन ‘डी’ आदि पनि महत्त्वपूर्ण छन् । भिटामिन ‘बी १२’ को धेरै कमी भए बिर्सने रोगको जस्तै लक्षण देखापर्ने सम्भावना हुन्छ । चरूवा कुखुराको अण्डा, ताजा पानीका माछा, चरूवा जनावरको मासुको सेवन मस्तिष्क स्वस्थ राख्न उपयुक्त हुन्छ । हुन त कति स्वास्थ्यकर्मीले भिटामिन ‘बी १२’ शाकाहारी भोजनमा पाइन्न भन्ने ठान्छन् । तर वनस्पतिजन्य भोजन जस्तैः चिज, पनिर, दही, मोहीले शरीरमा भिटामीन ‘बी १२’ पुग्छ भन्ने डा शर्माको अनुभव छ । मष्तिस्कका कोषिकाहरू नष्ट भएपछि पुनर्जीवित हुँदैनन्, त्यसैले नष्ट हुने प्रक्रिया न्यूनीकरण गर्न सकेसम्म स्वस्थकर भोजनमा ध्यान दिनुपर्छ ।
विगत केही वर्षदेखि पोषण र मानसिक स्वास्थ्य सम्बन्धमा अनेक अनुसन्धान भइरहेका छन् र मानसिक रोग विज्ञ मानसिक रूपमा स्वस्थ रहन व्यायाम, निद्रा, सामाजिक सक्रियातालाई पनि महत्त्वपूर्ण ठान्छन् । मानसिक समस्या भएर विभिन्न औषधि सेवन गर्दा त्यसबाट हुने ‘साइडइफेक्ट’ न्यूनीकरण गर्न पनि पौष्टिक भोजनको जरूरत पर्दछ । कुनै औषधिले कब्जियत गराए पर्याप्त मात्रामा सुप, पानी वा मोही पिउने र विभिन्न थरीका साग, फलफूलजस्ता रेशादार तत्त्व बढी भएका भोजनको प्रयोग गर्नुपर्छ । त्यसैगरी अनिद्राको कारणले मस्तिष्क र पाचन प्रणालीमा समस्या हुन सक्ने भएकाले यो बेलामा पनि भोजन र जीवनशैलीसम्बन्धी परामर्श दिइन्छ । सुत्ने बेला तातो दूध र बेसारको सेवन गर्ने, रातिको समयमा धेरै क्यालोरी र बोसोजन्य वस्तु आदि नखाने सल्लाह दिइन्छ । पाचन अङ्ग आन्द्रा र आन्द्रामा भएका सूक्ष्म कीटाणुले पाचन प्रणालीलाई मजबुत गराउँछ भन्ने हालैको वैज्ञानिक अनुसन्धानले देखाएको छ ।
मानसिक स्वास्थ्यसँग भोजन जोडिएको छ भन्ने तथ्य चिकित्सकहरूले धेरै अगाडिदेखि नै भन्दै आए पनि यो कुरा आम मानिसले बुझ्न अझै बाँकी छ । पेटभित्रको अङ्गको फरकफरक सञ्चालन प्रक्रिया छ । आकाशगङ्गामा खर्बाैं तारा रहेजस्तै पेटभित्र पनि खर्बौं कीटाणु छन् । जीवाणु, ढुसी आदि शरीरका विभिन्न भागहरू आन्द्रा, भुँडीका साथै फोक्सो आदिमा अवस्थित रहन्छन् । यिनको उपस्थितिले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा भूमिका खेल्न सक्नेबारे अनुसन्धान भइरहेको छ ।
आधुनिक चिकित्सा विज्ञानले भन्छ, धेरैजसो शारीरिक रोगको जरो पेटमा हुन्छ । आयुर्वेद विज्ञानले पनि पेटको समस्या परेपछि विभिन्न रोग उब्जिन्ने उल्लेख गरेको छ । अहिलेको वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ कि पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । सजिलो बुझ्ने भाषामा बुझ्ने हो भने मानसिक रूपमा सबल हुन स्वस्थकर भोजन चाहिन्छ । मानसिक रोगीलाई केबल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार गर्न सकिन्छ भन्ने होइन । मानसिक तनाव, डिप्रेसन, छारेरोग, उन्माद हुँदा औषधिको जरूरत पर्छ नै । कतिलाई त लामो समय औषधि जरूरत पर्छ । तर मानसिक रोग लागेका मानिसलाई औषधिका साथै स्वस्थ भोजनको पनि जरूरत पर्छ भन्ने चाहिँ पक्कै हो । जस्तो छारेरोग लागेको मानिसले जाँडरक्सी त छुनै हुँदैन ।
हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौँ भने मानसिक स्वास्थ्यको उपचारमा पनि यसले ठूलो भूमिका खेल्छ । पेट र मस्तिष्कबीचको सम्बन्ध प्रगाढ छ । यतिसम्म कि पेटलाई त दोस्रो मस्तिष्क नै मानिएको छ । यो स्पष्ट छ कि पेटमा रहेको खर्बौँ जीवाणुको स्वास्थ्य पनि हाम्रो भोजनमा नै निर्भर रहन्छ । अनि तीनै जीवाणुले र कीटाणुले हाम्रो मस्तिष्क भावनात्मक उतारचढावमा भूमिका खेल्छ । सरकारको स्वास्थ्यका कार्यक्रममा मानसिक रोगको उपचार र मानसिक स्वास्थ्य अति कम प्राथमिकतामा पर्छ । किनभने जो यो समस्याबाट पीडित छ उसले आफूलाई भएको समस्याका बारेमा बोल्न सक्दो आवाज उठाउन सक्दैन । जसलाई यो समस्या परेको छैन, उसले मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण सकारात्मक रहेको पाइँदैन ।
शरीर स्वस्थ रह्यो भने मन स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ रहन्छन् भन्ने भनाइ पनि छ । विज्ञहरू पेटको स्वास्थ्यमा हुने समस्याले बिर्सिने रोग, पार्किन्सन आदिमा पनि भूमिका खेल्ने बताउँछन् । सेराटोनिन नामको तत्त्व पेटमा ८० प्रतिशत उत्पन्न हुन्छ । सेराटोनिनले मानव मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति जगाउँछ । तर मस्तिष्कमा सेराटोनिनको कमी भएपछि उदास हुने समस्या उत्पन्न हुन्छ, जुन तत्त्वले पेटमा उत्पन्न भएर मस्तिष्कको कार्यलाई नियन्त्रण गर्छ । त्यसैले पेट स्वस्थ राख्न भोजन, निद्रा, व्यायामको कुराले महत्त्व राख्दछ । रेशादार पदार्थ भएका भोजनको उपयोग गर्दा मनको स्वास्थ्य सबल राख्न पनि मद्दत पुग्छ ।
विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार कुुनै पनि समाजमा १५ प्रतिशत मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित हुन्छन् र दुई प्रतिशत मानिसमा अति कडा खालका मानसिक समस्या रहेको छ । यस अर्थमा नेपालमा पनि झण्डै ४० लाख मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित छन् र झण्डै छ लाख मानिसमा कडा किसिमको मानसिक समस्या रहेको छ । यस्ता मानसिक समस्यामध्ये सुस्त मनस्थिति, विभिन्न किसिमका लागुऔषधहरू प्रयोग गरेर विक्षिप्त भएका मानिस, विभिन्न किसिमका सामाजिक समस्या परेर मानसिक अपराध र डिप्रेसन, प्रसवपछि मानसिक समस्या परेका आदि व्यक्ति पनि पर्छन् । अहिलेको बदलिँदो सामाजिक अवस्थाले गर्दा मानसिक समस्या अझ थपिएका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई हेर्ने हो भने संसारभरमा मानिसलाई सबभन्दा बढी अशक्त भार पर्ने दसवटा रोगमध्ये पाँचवटा त मानसिक रोग नै छन् । त्यसमा पनि डिप्रेसन (मानसिक अवस्था) दोस्रो स्थानमा छ । बढ्दो मानसिक रोगको समस्याको दिगो समाधानका लागि समयमै औषधोपचार गर्नुका साथै उचित खानपानमा पनि ध्यान दिन आवश्यक छ । यसबारेमा जनस्तरमै चेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।
(लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
FACEBOOK COMMENTS