थलारा । पहिरोले परिवारसहित सर्वस्व लगेपछि कलकबहादुर सार्की दिनभर टोलाइरहन्छन् । आमा हर्कुदेवी, श्रीमती ३० वर्षकी ईश्वरी, छोराहरू १२ वर्षका सन्दीप, ६ वर्षका सरोज र छोरी एक वर्षकी सपना मात्रै आँखामा झलझली आइरन्छन् ।
‘सर्वस्व गुम्यो । दैवले यस्तो पीडा दिँदो रहेछ’, आँसु झार्दै कलकले भने, ‘भगवान् भेटिने भए सोध्ने मन थियो– दैव किन यस्तो गर्यौ ?’
बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो खस्दा कलकसहित दाजुभाइको परिवारका १८ र छिमेकी नरबहादुर पार्कीको परिवारका पाँच जना बेपत्ता भएका थिए। तीमध्ये सार्की परिवारका तीन र पार्की परिवारका एक जनाको शव भेटिएको छ। बाँकीको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन् ।
कात्तिक २ गते बिहान ४ बजेको थियो । दुई दिनदेखि झिमझिम वर्षा भइरहेको थियो। घरनजिकै पहिरो खस्न थालेपछि छिमेकी पार्की अँध्यारोमै परिवारका पाँच सदस्यलाई लिएर कलककहाँ आएका थिए। जसमा आमा उजलीदेवी, श्रीमती हासुदेवी, छोरा आयुस, छोरीहरू हिमा र सीमा थिए।
‘नरबहादुर काकाले घरमा दुई–तीन कट्टा खाद्यान्न छ। त्यसलाई पनि सारौं। पानी त कति दिनसम्म पो पर्ने हो भन्नुभयो’, कलकले भने, ‘हामी दुई जना चामल लिन गइरहेका थियौं। नरबहादुर काकाको घर पुगेकै थिएनौं। ड्याम्म ठूलो आवाज आयो। अँध्यारो थियो, केही पत्तो पाइएन तर सर्वस्व लगेछ।’
उनको घर भएको स्थानमा माथिको ढोगदिने धार (डाँडाको नाम)बाट खसेको पूरै पहिरो पसेको छ। वर्षा रोकिएको पाँच दिनसम्म पनि दलदल नै छ। ६ दाजुभाइमध्ये कलक जेठा रहेछन्। तीन भाइको परिवारै पहिरोमा बेपत्ता भएको छ। दाजुभाइका ६ र पार्कीको एक गरी सात घरको नामनिशान छैन।
कलकका काइलो भाइ राम दसैंको टीका थाप्न श्रीमतीसहित तल्कोटस्थित ससुराली गएका थिए। उनकी १० वर्षकी छोरी सरितासमेत उतै गएकाले काकाकाकीसहित तीन जना जोगिए। बुवा गगने र कान्छो भाइ सुरेश भारतमा छन्। २४ सदस्यीय परिवारमा तीन ससुराली, २ भारत र कलक खाद्यान्न सार्न घरबाट निस्केकाले बाँचेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS