पोखरा मंसिर ३,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ७ प्रदेशमध्ये सबैभन्दा कम उजुरी गण्डकीबाट परेका छन् । आयोगको वार्षिक प्रतिवेदनले त्यस्तो देखाएको हो । प्रतिवेदन काठमाडौंमा प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाए भने ७ प्रदेशस्थित आयोग कार्यालय प्रमुखहरुले प्रदेश प्रमुखहरुलाई बुझाए ।
अख्तियारको पोखरा कार्यालय प्रमुख कोषहरि निरौलाले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सोमबार उनकै कार्यालयमा वार्षिक प्रतिवेदन बुझाएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा पोखरा कार्यालयमा ९ सय ३२ उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । उक्त वर्ष मुलुकभरबाट परेका उजुरीमध्ये गण्डकीमा ७.१६ प्रतिशतमात्र उजुरी परेको हो ।
सबैभन्दा धेरै उजुरी प्रदेश नम्बर २ मा परेको छ । प्रदेश २ मा २४ दशमलव ५६ प्रतिशत परेको छ । प्रदेश १ मा १२ दशमलव ५४ प्रतिशत, बागमती प्रदेशमा २२ दशमलव ५९ प्रतिशत, लुम्बिनी प्रदेशमा १३ दशमलव ७२ प्रतिशत, कर्णाली प्रदेशमा ७ दशमलव ९८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ४५ प्रतिशत उजुरी परेको छ ।
पोखरा कार्यालय प्रमुख निरौलाले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएपछि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ठूला ठूला माछा अख्तियारमा कमै फस्ने गरेको बताए । अपराध र भ्रष्टाचार गर्ने ठूला राजनीतिकर्मी र प्रशासकप्रति उनको संकेत थियो । ‘आयोगको अहिलेसम्मको क्रियाकलापमा ठूला ठूला माछा कमै फस्ने गरेका छन्,’ उनले भने, ‘मिडियाबाट ठूला ठूला भ्रष्टाचारका समाचार आइरहेका छन् । त्यसमा पनि अख्तियारले जनतालाई विश्वास हुने गरी काम गरोस् ।’ अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने विश्वास कायम गर्नुपर्ने उनले सुझाए ।
FACEBOOK COMMENTS