काठमाडौं- प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ। सभामुख सापकोटाले बैठक सुरु गर्नासाथ प्रतिपक्षी नेकपा एमालेका सांसदहरु बेल घेर्न पुगेका थिए। उनीहरुको बिरोधका बाबजुद सभामुख सापकोटाले बैठक सञ्चालन गरेका थिए।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेल्वे विधेयक २०७८ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध जनाएका थिए। उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्यो र विधेयक फिर्ताको लागि राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो।
त्यस्तै संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो विधेयक संसदमा प्रस्तुत गरेका थिए। प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने छ।
FACEBOOK COMMENTS