काठमाडौँ । असोज अन्तिम साता आएको वर्षासँगै बाढी पहिरोले राष्ट्रिय प्रसारण लाइनमा (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।
बाढी पहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत् आपूर्ति नभएको नेपाल राष्ट्रिय विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनले भने,क्षति भएको स्थानमा मर्मतको काम भइरहेको छ ।
दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलङ्गामा काम चलाऊ भइरहेको जनाएको छ । यही बिजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।
टोल, क्षेत्र कलष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने,‘स्थानीय स्तरमा उत्पादित बिजुली कम क्षमताको छ । यो बिजुलीलाई अस्पताल, सुरक्षा निकायलगायत विशेष ठाउँलाई प्राथमिकता दिएको छ । नागरिकको घरमा पनि कम्तीमा मोबाइलसम्म चार्ज गर्न होस भनेर पनि बिजुली आपूर्ति गर्ने गरिएको छ ।
क्षति भएको स्थानमा बिजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भइरहेको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत् सामग्री ओसारपसारमा समस्या भएको छ । उनले हप्ता दिनभित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भइरहेको बताए ।
FACEBOOK COMMENTS