काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ । प्रवक्ता मुक्ति श्रेष्ठले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशयपत्र दिइएको जानकारी दिए ।
उनका अनुसार सोमबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये १६ कम्पनीलाई आशयपत्र दिएको हो । अहिले बजारमा ५० वटा कम्पनीले कारोबार गरिहेका छन् । १६ वटा ब्रोकर कम्पनीले आशयपत्र पाएसँगै ६६ कम्पनीले कारोबार गर्नेछन् ।
यसअघि सञ्चालनमा आएको ब्रोकर कम्पनीहरुले कठिन चरणहरु पार गर्दै लाइसेन्स पाएका थिए भने पछिल्लो चरणको नयाँ लाइसेन्सको लागि धितोपत्र कारोबार सम्बन्धी नियमावली नै संशोधन गरेर सहज बनाईएको थियो ।
स्टक डिलरको रुपमा काम गर्ने गरी आवेदन दिएको नबिल सेक्यूरिटिज लिमिटेड र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको मेघा स्टक मार्केट लिमिटेड सहित बाँकी १४ कम्पनीहरूलाई सिमित कार्य गर्ने ब्रोकरको रुपमा आशय पत्र प्रदान गरेको बोर्डले जनाएकाे छ ।
सिमित कार्य गर्ने गरी आशयपत्र प्राप्त गर्ने १४ कम्पनीहरूमा हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज , एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज ,सानिमा सेक्युरिटि, इन्डेक्स सेक्युरिटिज,सन् सेक्युरिटिज ,क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज ,आकाश भैरव सेक्युरिटिज,एलिट स्टक हाउस र एसपीएसएस सेक्युरिटिज रहेका छन् ।
बोर्डले नयाँ ब्रोकर लाईसेन्स वितरणका लागि गत असोज २ गतेदेखि ३१ गतेसम्म आवेदन संकलन गरेको थियो ।
बोर्डले सिमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड, शेयर खरीविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी ६० करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ ।
पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रुपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी ०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।
FACEBOOK COMMENTS