काठमाडौं । सवारीसाधनहरुको व्यवस्थापन गर्न सरकारले लागू गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटप्रति सवारीधनीको आकर्षण न्यून देखिएको छ ।
२५ लाख सवारीसाधनमा जडान गर्ने मुख्य उद्देश्यका साथ शुरू भएको इम्बोस्ड नम्बर प्लेट चार वर्षको अवधिमा ८ हजारमात्र जडान भएको छ । हाल जडान गरिएको सामान्य प्लेटभन्दा धेरै महँगो भएका कारणले पनि नागरिकको चासो बढ्न नसकेको हो । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि गर्नुपर्ने आरएफआईडी (डिजिटल) गेट निर्माणको प्रक्रिया समेत अगाडि बढाएको छ ।
सरकारले सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न थाले पनि सवारीधनीहरू इम्बोस्ड नम्बर प्लेट जडानमा आकर्षित देखिएका छैनन् । यातायात व्यवस्था विभागले गत साउनदेखि साना तथा ठूला सबै प्रकारका सवारीसाधनको सामान्य नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेटमा रूपान्तरण गर्न थाले पनि सवारीधनी आर्कषित हुन नसकेका हुन् ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सर्वोच्च अदालतमा परेको मुद्दा र कोभिडको कारण अपेक्षाकृत रूपमा इम्बोस्ड नम्बर प्लेट लडानको काम अगाडि बढ्न नसकेको दाबी गरे । उनले नेपाल समाचारपत्रसँग भने ‘हालसम्म ८ हजार नम्बर प्लेट जडान भएको छ, अबको साढे दुई वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारीमा छौं ।’
इम्बोस्ट प्लेट जडानसँगै गर्नुपर्ने डिजिटल गेट निर्माणको काम समेत पाँच वर्षको अवधिमा अझै प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।
आरएफआईडी स्टिकर वा ट्याग जडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि काठमाडौं उपत्यकाको नागढुंगा, जगाती, नागार्जुन, फर्पिङ, जोरपाटी र काठमाडौं उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर र अत्तरिया गरी जम्मा १० स्थानमा आरएफआईडी गेट निर्माण गर्ने भनिए पनि विभागले अझै काम अगाडि बढाएको छैन । प्रवक्ता भुसाल नम्बर प्लेट रिड गर्ने डिजिटल गेट निर्माणका लागि प्रक्रियामै रहेको बताए ।
त्यसै गरी, विभागले सडकमा खटिने यातायात कर्मचारी वा ट्राफिक प्रहरीले अनुगमनमा प्रयोग गर्ने प्रयोजनका लागि १ सय थान हाते पीएफआईडी रिर्डर उपकरण दिनुपर्ने भए पनि अझै उपलब्ध नगराएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS