काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफ्नो नवगठित पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन् ।
आज बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राईले जनता समाजवादी पार्टी गठनको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका हुन् ।
केही दिनअघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए । राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले पनि दल दर्ताको प्रमाणपत्र दिएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका कामकारबाहीलाई यथावत राख्न आदेश दिएसँगै उनले यस्तो प्रतिक्रिया दिइएको हो । उनले सर्वोच्च अदालतको आदेश आफूहरुले अपेक्षा गरे अनुरुप नै आएको बताए ।
उनले निवेदकले माग गरे अनुरुपको आदेश सर्वोच्च अदालतले नगरेको भन्दै आफूहरुको पार्टी अवैधानिक रहेको भन्ने स्थिति नरहेको जिकिर गरेका छन् ।
FACEBOOK COMMENTS