काठमाडौं । आफ्ना पीडा लिएर तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडितले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा पीडितले आफ्ना पीडा सुनाएका छन्। पीडितहरुले रुँदै आफूहरुलाई मिटरब्याजीहरुले सुकुम्बासी बनाएको बताएका छन्।
तत्काल समस्या समाधान गरी मिटरब्याजीको जालोबाट आफूहरुलाई मुक्त गराइदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अनुरोध गरेका छन्। पीडितका समस्या सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले सरकार यो समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी अघि बढेको बताए। मिटरब्याजीहरुलाई कानुनको दायरामा ल्याउनका लागि सरकारले ऐन बनाउने प्रक्रिया अघि बढाएको प्रधानमन्त्रीको भनाइ थियो।
उनले भने, ‘अहिले समस्या समाधान भएन भने पछि सम्भावना हुँदैन। यसरका तपाईंहरुका समस्याप्रति निकै गम्भीर छ। तत्काल समाधान गर्ने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।’
साथै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरुको सञ्जाल राज्यका संयन्त्रसँग पनि जोडिएको बताएका छन्। कहिँ न कहिँ उनीहरुको कनेक्सन राजनीतिदेखि प्रहरी प्रशासनसम्म भएकाले सबै समस्याको समाधान गर्नेगरी सरकारले काम गर्ने उनले बताए।
FACEBOOK COMMENTS