काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा समस्या देखिनुको जड राजनीति भएको बताएका छन् ।
आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या भएको बताएका हुन ।
उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको पनि बताए । शर्माले राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति नहुनु कस्तो खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेकाले अर्थतन्त्रमा विभिन्न समस्या परेको जिकिर गरे ।
मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरे । छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको र यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिए ।
कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत विज्ञहरूले दिएका छन् । छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा। दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा .रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो ।
FACEBOOK COMMENTS