काठमाडौं । लगातार रूपमा घट्दै जान थालेको नेप्से परिसूचक आइतबार १०८.२६ अंकले घट्दा २८१८.७३ बिन्दुमा झरेको छ । नेप्से परिसूचक यसरी एकै दिन घटेको यो वर्षको पहिलो घटना हो ।
नेप्से परिसूचक घटे तापनि आइतबार २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयरको ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४७ रुपैयाँको कारोबार भएको छ । सो दिन पहिलो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रो डेभलपमेन्ट रहेको छ ।
कम्पनीको सो दिन ७० करोड ३३ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ३० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको २५ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ भने नबिल बैंकको २४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँको कारोबार भएको छ ।
हाइड्रोको मात्र सेयर मूल्य घट्दै गइरहेकोमा आइतबार अधिकांश कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । विकास बैंक समूह ७.२१ र फाइनान्स समूह ८.०१ प्रतिशत घट्न पुगेको थियो ।
बजार खुलेदेखि नै उच्च अंकले गिरावट आउँदै २ घण्टामै १४७.३१ अंकसम्म घटेर ४० मिनेट कारोबार रोकिएको थियो । सेयर कारोबारमा सकारात्मक रूपमा बढे पनि र नकारात्मक रूपमा घटे पनि लगानीकर्तालाई सोच्ने समय दिनका लागि सर्किट ब्रेक गर्ने गरिन्छ ।
१ बजेर ३९ मिनेट ५५ सेकेन्डमा पुनः सुरु भएको कारोबारपछि भने झन्डै ३९ अंकले परिसूचक बढेपछि यस दिनको परिसूचक १०८.२६ अंकमा सीमित हुन पुुग्यो ।
यति ठूलो संख्यामा घटेको बजारमा पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३७३.८० अंक पुगेको छ । नेप्से ३.७० प्रतिशतले घट्दा आइतबार सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ बिन्दुमा झरेको छ । स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ ।
नाफा कमाउनेमा म्युचुअल फन्ड र डिबेन्चरसहित जम्मा १४ वटा कम्पनी छन् । जसमध्ये, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । आइतबार पनि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नै सर्वाधिक कारोबार भएको छ । जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
नेप्सेमा भारी गिरावट आएपछि सेयर लगानीकर्ताहरूले आन्दोलनको तयारी गरिरहेका छन् । सेयर लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वमा पुँजीबजार सुधार संघर्ष समिति गठन गरिएको छ । उनीहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गरेका छन् ।
‘मौलिक हकअन्तर्गतको सम्पत्तिको हकमाथि प्रहार गरी’ नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएको उनीहरूको आरोप छ । नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समयमा नियोजित रूपमा तयार गरिएका नीति कार्यक्रममा र कार्यनीतिले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर अधिकारीको राजीमाना मागसमेत गरेका छन् ।
नेपाल राष्ट्र बैंकले गत भदौ ८ गते मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका जारी गर्दै सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सीमित गरेपछि निरन्तर रूपमा सेयर बजारमा नकारात्मक प्रभाव देखिन थालेको थियो ।
मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिका सार्वजनिक गर्दै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेका थिए । योसँगै सेयर बजार निरन्तर आरालो लागिरहेको छ ।
आइतबार १७ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट मूल्यमा कारोबार भएको थियो । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, गुडबिल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर, हिमालयन ऊर्जा विकास, रुरु जलविद्युत् परियोजना, सीईडीबी परियोजना, ग्रिनलाइफ हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पाँचथर पावर कम्पनी, दिव्यसबरी हाइड्रो नेपाल कम्पनीको सेयर १० प्रतिशतले घटेर यी कम्पनीका लगानीकर्ता सबैभन्दा आफ्नो सेयर हिस्सा गुमाएका छन् । त्यसैगरी, घलेम्दी, पञ्चकन्या हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आइतबार १४ वटा कम्पनीमा मात्र हरियाली बन्न पुगेका छन् । बाँकी २ सय चार कम्पनीको सेयर नकारात्मक बन्न पुगेका छन् । मनकामना लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्तको वित्तीय संस्थाका सेयर लगानीकर्ताहरूले थोरै भए पनि नाफा आर्जन गर्न सफल भएका छन् ।
सेयर बजारमा ठूलो गिरावट आएसँगै डेढ खर्ब रुपैयाँ पुँजीकरण घटेको छ । गत साता ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको पुँजीकरण आइतबार एकै दिन १ खर्ब ४५ अर्ब रुपैयाँले घटेर ३९ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
राष्ट्र बैंकले लागू गरेको चार र १२ करोड रुपैयाँको सेयर धितो कर्जा सीमाको नीति, तरलता कसिलो हुँदै जानु र सोबाट उत्पन्न भएको लगानीकर्ताको हतास मनस्थितिका कारण सेयर बजारमा प्रभाव परेको प्रारम्भिक आँकलन छ । राष्ट्र बैंकको नीतिका कारण ठूला लगानीकर्ता बाहिरिएपछि साना लगानीकर्ताले बजार धान्न नसक्दा समस्या भएको हो ।
निषेधाज्ञा हटेसँगै अन्य लगानीका क्षेत्र खुला हुँदा सेयर बजार घटेको पनि आँकलन गरिएको छ । निषेधाज्ञा अवधिमा सेयर बजार बढेको थियो । निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहे पनि सेयर बजार चालूू रहेको थियो । अनलाइन कारोबार प्रणालीका कारण लगानीकर्ताले घरबाटै कारोबार गरे । लगानी गर्ने ठाउँ नहुँदा अधिकांशले सेयर बजारमा हात हाल्दा नयाँ लगानीकर्ता ह्वात्तै बढेका थिए ।
निषेधाज्ञासँगै लगानीका क्षेत्र खुम्चिँदा बैंंकको ब्याजदर घटेको थियो । अन्य क्षेत्रमा कर्जाको माग घट्न थालेपछि बैंकहरूले पनि सेयर धितोमा लगानी बढाएका थिए । निषेधाज्ञासँगै अहिले बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । लगानीयोग्य पुँजीको अभाव दोहोरिने संकेत देखिएपछि बैंकहरू ब्याजदर बढाउने तयारीमा लागेपछि सुरक्षित हुन सस्तोमा सेयर बिक्री गर्न थालिएपछि सेयर बजारमा आइतबार पहिरो गएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS