काठमाडौं । वि.स. २०३७ सालमा रसुवाको बेतिनीमा जन्मिएका रोशनकुमार न्यौपाने पढेर शिक्षक बन्न चाहान्थे । किनभने स्कुल पढ्दा शिक्षकबाहेक ठूलो र महत्वपूर्ण व्यक्ति उनलाई अरु कोही लाग्दैनथ्यो । तर, जब प्रवेशिकापछि काठमाडौं आएर व्यवस्थापन संकायको अध्ययन शुरू गरे तब उनलाई केही साथीहरूले पढ्न गाह्रो भए पनि राम्रो स्कोप छ भन्दै सीएतर्फ मन मोडाए । त्यसैबेलादेखि उनले शिक्षक बन्ने सपना भुल्दै आजको बाटोतर्फ अग्रसर भए ।
त्यसैले आज रोशनकुमार न्यौपाने ‘बैंक पनि, साथी पनि’ मुल नारा अवलम्बन गरेको ‘एनआईसी एशिया’ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । न्यौपाने सीईओ मात्र होइनन् हालको अवस्थामा नेपाली बैंकिङ क्षेत्रका सबैभन्दा कान्छो र प्रभावशाली सीईओ समेत हुन् । उनले नेतृत्व गरेको बैंक २७ वटा वाणिज्य बैंकमध्ये निक्षप सङ्कलन, ऋण प्रवाह, शाखा सञ्जाललगायतका अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकहरूका आधारमा नम्बर वानमा छ भने अन्य केही सूचकांकहरू दोस्रो नम्बरमा छ ।
रसुवाकै कालिका हिमालय माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका सीईओ न्यौपानेले काठमाडौं आएर ग्रामीण आदर्श बहुमुखी क्याम्पस(सामूदायिक) बाट प्रमाणपत्र तह र शंकरदेव क्याम्पसबाट बीबीएससम्मको अध्ययन गरेका छन् । साथै उनले सन् २००६ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स (आईक्यान) बाट चार्टर्ड एकाउन्टेन्ट्स (सीए) को शिक्षा पनि सम्पन्न गरेका छन् ।
सीए पूरा गरिसकेपछि करिब १ वर्ष अडिट फर्ममा काम गरेका सीईओ न्यौपानेले सन् २००८ को एप्रिलमा तत्कालीन बैंक अफ एशियाको इन्टरनल अडिट डिपार्टमेन्टमा प्रमुख पदबाट बैंकिङ यात्रा शुरू गरेका हुन् ।त्यसपछि सन् २०१३ जुनमा बैंक अफ एशिया र एनआईसी बैंकको मर्जरपछि बनेको ‘एनआईसी एशिया’ मा केही समय अडिट म्यानेजरका रूपमा काम गरेका उनी फेरि इन्टरनल अडिट डिपार्टमेन्टको प्रमुख भएर काम गरे । त्यसपछि उनलाई चिफ रिस्क अफिसरको जिम्मेवारी दिइयो । समयक्रमसँगै एसिस्टेन सीईओ बनेका न्यौपाने तत्कालीन सीईओले राजीनामा दिएपछि डेपुटी र एक्टिङ सीईओ बने ।
केही महिना एक्टिङ सीईओको रूपमा काम गरिसकेपछि बैंकले उनलाई २ वर्षअघि सीईओओ जिम्मेवारी प्रदान गरेको हो । एनआईसी एशिया बैंकको विभिन्न एरियाहरू ओभरसाइट गरेर आफ्नो क्षमता विकास गर्दै अनवरत रूपमा काम गरेका उनै रोशनकुमार न्यौपाने अहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।मध्यमवर्गीय परिवारमा हुर्किएका न्यौपानेले आफ्नो जीवनमा अफिसर भन्दा अन्य पदमा कुनै दिन पनि काम गर्न परेको छैन । सरकारी विद्यालय र सरकारी क्याम्पसमा अध्ययन गरेर पनि अब्बल बन्न र आफ्नो क्षमता विकास गर्दै जाँदा अनेकन अवसर र सफलताहरू प्राप्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण समेत बनेका न्यौपाने बाल्यकालमा अलिक अन्तर्मुखी स्वाभावका थिए ।
त्यसो त अन्तर्मुखी स्वाभावका व्यक्तिहरू कुनै पनि विषयलाई सन्तुलित ढङ्गबाट अगाडि बढाउन तथा काम गर्नुअगाडि सोचेर मात्र गर्ने भएकाले उनीहरूलाई समाजले बुद्धिमानीको दर्जामा समेत राखेको हुन्छ । समाजको यो दृष्टिकोणलाई आत्मासाथ गर्ने हो भने पनि न्यौपानेले आफ्नो जीवनमा यी कुराहरूको प्रष्टसँग पुष्टि गरेका छन् ।कुनै पनि काम गर्छु भनेर एउटै एजेन्डा बोकेर दृढ आत्मविश्वासका साथ अगाडि बढ्ने हो भने सफलता हात पार्न त्यति धेरै कठिन नहुने उनी बताउँछन् । पारिवारिक पृष्ठभूमि, अध्ययनको अवस्था र भूगोलको विकटतालाई चिरेर पनि न्यौपानेले हासिल गरेको सफलताबाट आम युवाले धेरै सकारात्मक कुराहरू सिक्न सक्दछन् ।
‘गर्न धेरै बाँकी छ,’ सीईओ न्यौपाने भन्छन्, ‘तत्कालीन समयमा मेरो पारिवारिक, शैक्षिक र भौगोलिक पृष्ठभूमिलाई दृष्टिगत गर्ने हो भने म यति चाँडै यो सफलताको नजिक पुग्छु भन्ने लागेको थिएन । तर, निरन्तरको लगन, मेहनत, परिश्रम, सबै प्रकारका साथीसँगीको सहयोग, समर्थन र सहकार्य, बैंकको बोर्डले गरेको विश्वास, बैंकका अध्यक्ष एवम् सञ्चालकहरूबाट निर्दिष्ट प्रष्ट निर्देशन र सरोकारवाला सबैको सहयोग एवम् मार्गदर्शनबाट म यो ठाउँमा पुगेको छु ।’
आफूलाई कान्छो सीईओ भन्ने गरेकोतर्फ संकेत गर्दै उनी भन्छन्, ‘मान्छेको उमेर भन्दा पनि विचार र दृष्टिकोणमा कत्तिको परिपक्वता छ भन्ने कुरा महत्वपूर्ण हो । मेरो अनुभवमा क्षमता र दक्षतासँगै भिजन, इन्नोभेसन, क्रियटिभिटी र प्यासन भन्ने कुरा धेरै महत्वपूर्ण हुँदोरहेछ । आफ्नो सपनालाई निरन्तर पछ्याईराख्ने, उच्चतम मनोबल तथा लगनका साथ काम गर्ने, आफूले देखेको सपनामा दत्तचित्त भएर अहोरात्र मन, बचन र कर्मले लागिराख्ने हो भने हामीलाई शुरूमा असम्भव लागेको धेरै यात्राहरू पूरा गर्न सकिने र गन्तव्यमा अवश्य पनि पुगिने विश्वास उनको छ ।
आफ्नै देश नेपालमा केही गर्न, राम्रै गर्न र ठूलै गर्न सकिने प्रशस्त वातावरण बनेको भन्दै उनले त्यसका लागि लगन, मेहनत, आत्मविश्वास र केही हदसम्म धैर्यताको खाँचो रहेको उनी बताउँछन् । त्यसलाई कायम राखेर अगाडि बढ्न सकियो भने हामी सबैको भविष्य सुन्दर त छ नै सँग–सँगै देशलाई समेत समृद्ध र विकसित बनाउन सकिने उनको दृष्टिकोण छ ।
परिस्थिति सहज हुँदा भन्दा असहज हुँदाका बखत प्राप्त हुने सफलताको स्वाद मिठो हुने उनको अनुभव छ । जीन्दगीका सबै चुनौतीहरूलाई सकारात्मक शक्तिका रूपमा ग्रहण गर्न सक्नुपर्ने उनको भनाइ छ । अहिले सीईओ न्यौपाने एनआईसी एशिया बैंकलाई सबैको पहिलो रोजाइको बैंक बनाउने योजनामा दत्तचित्त भएर लागिरहेका छन् ।
FACEBOOK COMMENTS