मनाङ । मनाङको तलेखु-भ्राताङ भीरमा नयाँ ट्र्याक निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन शुरू गरेको हो ।
सो सडकमार्ग २ महीनाभन्दा बढी अवरुद्ध हुँदै आएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान काटेर ट्र्याक बनाउन शुरू गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । चट्टानी भीरमा सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ बीचको आवतजावत समेत रोकिएको छ । यसलाई सहज बनाउन नयाँ ट्र्याक खुलाउन लागिएको उनले बताए । सांसद पोल्देन छोपाङले भीरमा ड्रिलिङ कम्प्रेशर मेशिनद्वारा ड्रिलिङ गरी प्वाल बनाइ ब्लास्टिङ थालिएको र केही समयमै ट्र्याक खुल्ने जानकारी दिए ।
जिल्लाको ङिस्याङ गाउँपालिका–१ भ्राताङ भीरमा ब्लास्टिङ शुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने, ‘मनाङको सडकखण्ड अन्तर्गतको सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भीरमा बाढीपहिराले पूर्णरूपमा सडकको निशान नै मेटाएको थियो । यसले गर्दा नयाँ ट्र्याक निर्माण गर्न थालिएको हो ।’ यस भीरमा सडकको ट्र्याक खुलाएपछि माथिल्लो र तल्लो मनाङ बीचमा आवतजावतमा सहज हुने उनले बताए ।
गत असार १ गते आएको बाढीपहिराले गर्दा उक्त भीरको सडक मार्गमा क्षति पुगेको थियो । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिरोले जोखिम बढ्नुका साथै सडकको निशान हराएको छ । यस भीरमा नयाँ ट्र्याकका लागि बम प्रहार गरी सडक बनाउने कार्य भइरहेको छ । सेनाले उक्त भीरको चट्टान कोपेर र बम प्रहार गरेर बाटो निर्माणको काम सोमवारदेखि थालिएको हो,’ उनले भने ।
सडक निर्माणका लागि चट्टानमा प्वाल बनाई बम राखेर ब्लाष्टिङ भइरहेको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार एक्स्क्याभेटरको प्रयोगबाट सडक सञ्जाल जोड्ने काम भइरहेको छ । बेँशीशहर–चामे सडक अन्तर्गतको बेँसीशहरबाट माथि ३५ किमी सडक सञ्चालनमा आइसकेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS