काठमाडौँ । सोमबार राति अमेरिकी सेनाको अन्तिम कार्गो विमानले कावुलस्थित हमिद कारजई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेसँगै तालिवान विरुद्ध अमेरिकाले दुई दशकअघि सुरु गरेको सैन्य मिसनको अन्त्य भएको छ ।
संयोग कस्तो भने सन २००१ सेम्टेम्बर ११ मा ट्वीन टावरमा आतंकवादी हमला भएपछि अमेरिकाले अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो। सोमबार राति अमेरिकी सेनाको अन्तिम टोलीले अफगानिस्तान छोड्दै गर्दा सम्पूर्ण अफगानिस्तानसहित अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थल समेत तालिवानी लडाकुको पहुँचमा पुगिसकेको थियो । अर्थात् तालिवानविरुद्धको लडाइँमा ठूलो जनधनको क्षति व्योहोरेको अमेरिकाले अन्ततः दुई दशकपछि अफगानिस्तानलाई अन्योलतामा छोड्दै विद्रोही समूह तालिवानकै जिम्मा लगाएको छ ।
तालिवानले अफगानिस्तानमा कब्जा गरेसँगै ठूलो संख्यामा अफगानीहरूले मुलुक छाडेपनि अझै दशौं हजार मुलुक छोड्न चाहने त्यहाँका नागरिक, सुरक्षा निकायका पूर्वसदस्यहरू तथा अमेरिका प्रवेश आज्ञापत्र रहेकाहरूलाई बीचमै छाडेर अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको छ। तालिवान नियन्त्रित अफगानिस्तानमा उनीहरूको अवस्था के हुन्छ र लानिवानको शासनकालमा समग्र अफगानिस्तान कसरी अघी बढ्छ भन्ने अन्यौलता कायमै रहेको छ।
अमेरिकाले दुई दशक लामो सैन्य मिसनलाई अन्त्य गर्दै अफगानिस्तान छाडेसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लीङकेनले अफगानिस्तानसँगको सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताए। ‘अब हामी कुटनीतिक हिसाबले अघि बढ्छौं, सैन्य मिसन अन्त्य भएको छ,’ उनले भनेका छन्। अमेरिकी सेनाले अफगानिस्तान विमानस्थल छाडेसँगै तालिवानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको बताए। ‘अमेरिकी सैनिकहरू कावुल विमास्थलबाट प्रस्थान गरेका छन्। हाम्रो मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको छ,’ उनले ट्वीटर मार्फत भनेका छन्।
तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै नयाँ सरकार गठनका लागि काम गरिरहेको जनाएको छ। अमेरिकी सैनिकले २० वर्ष पछि अफगानिस्तान छाडेसँगै तालिवान प्रवक्ता मुजाहिदले राष्ट्रिय एकताका लागि आग्रह गरेका छन्। उनले आपसमा भएका मत भिन्नतालाई छोडेर एकै ठाउँ आउन अफगान नागरिकहरूलाई निर्देशन दिएका छन्। यदी देशका जनताकाबीचमा एकता नभएमा अन्तर्राष्ट्रिय समुदायले सहयोग नगर्ने उनको भनाइ छ। नयाँ गठन हुन लागेको सरकारमा सबै अफगानिको प्रतिनिधित्व हुने पनि उनले जानकारी गराएका छन्।
अफगानिस्तानमा अमेरिकाले सैन्य कारबाही सुरु गरेपछि दुई दशकको अवधिमा चार जना राष्ट्रपतिले जिम्मेवारी सम्हालेका छन्। तत्कालीन राष्ट्रपति जज डब्ल्यु बुसको कार्यकालमा सुरु भएको अफगानि युद्ध बाराक ओबामा, डोनाल्ड ट्रम्प हुँदै जो वाइडेनको कार्यकालसम्म आइपुग्दा अन्त्य भएको छ। यस अवधिमा अमेरिकाले अफगानिस्तानमा दुई दशमलव २६ ट्रिलियन अमेरिकी डलर सैन्य खर्च गरेको छ। उक्त सैन्य कारबाहीमा अमेरिका नेतृत्वको गठबन्धनका तीन हजार पाँच सय सैनिकले ज्यान गुमाएका छन् ।
त्यसमध्ये दुई हजार तीन सय अमेरिकी सैनिक रहेका छन्। अमेरिकाले अफगानिस्तान छोड्दै गर्दा विहीबार भएको आतंकवादी हमलामा परि १३ जना अमेरिकी सैनिकले ज्यान गुमाएका थिए। उक्त युद्धमा २० हजार ६ सय ६० अमेरिकी सैनिक घाइते भएका छन्। त्यस्तै चार सय ५० बेलायती सैनिकले पनि ज्यान गुमाएका छन्। ब्राउन विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार सन २०१९ सम्ममा ६४ हजार एक सय अफगान सैनिक तथा प्रहरीले उक्त युद्धमा ज्यान गुमाएका थिए। त्यस्तै सन २००९ यता ज्यान गुमाउने तथा घाइते अफगान नागरिकको संख्या एक लाख ११ हजार रहेको संयुक्त राष्ट्र संघले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS