काठमाडौं । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ । विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन् ।
उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो । विश्व बैंकले करिब १ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो । यी दुई आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ छ । सरकारको लगानी हालसम्म ४ अर्ब रुपैयाँ भइसकेको छ। आयोजनामा लगानी जुटाउने तयारी भइरहेको प्राधिकरण स्रोत बताउँछ ।
४०० केभी र २२०–१३२–३३ केभी सबस्टेसनको प्रगति क्रमशः ६५ र ८५ प्रतिशत मात्रै छ । विश्व बैंकसँगको सम्झौताअनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो । हेटौंडा–ढल्केवर–इनरुवा सन् २०११ मा र हेटौँडा–भरतपुर–बर्दाघाट सन् २००८ देखि ठेक्का लागेका आयोजना हुन्। तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेको प्राधिकरण स्रोत बताउँछ। यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन् ।
प्राधिकरणले हालै जारी गरेको विज्ञप्तिमा ४०० केभी र २२०–१३२–३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचना निर्माण भइसकेको उल्लेख छ । ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ। २२०–१३२–३३ केभी सबस्टेसनका उपकरण जडान भइसकेको विज्ञप्तिमा जनाइएको छ ।
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि यी प्रसारणलाइन नेपालको विद्युत् वितरणको मेरुदण्डका रूपमा हेरिएको छ। निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ। सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ। त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ।
यस्तै, ढल्केवर इनरुवा प्रसारणलाइन निर्माण नभएसम्म माथिल्लो तामाकोसीको ४५६ मेगावाट काठमाडौं आपूर्ति हुन सक्ने देखिँदैन। किनभने माथिल्लो तामाकोसीबाट खिम्ती–तामाकोसी–काठमाडौं ४०० केभीमार्फत काठमाडौं ल्याउने वा खिम्ती-ढल्केबर २२० केभीमार्फत ढल्केवर सबस्टेसनमा जोडेर हेटौंडा–ढल्केवर–इनरुवामार्फत वितरण गर्ने प्राधिकरणको योजना रहेको आजको अन्नपूूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS