अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाहिर लगेको भन्दै कब्जा गरेको छ ।
अमेरिकी न्याय विभागका अनुसार फाल्कन ९०० ईएक्स विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिइएको थियो र पछि अमेरिकाको फ्लोरिडा पठाइएको थियो ।
विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन । ट्र्याकिङ डाटाले विमान राजधानी सान्टो डोमिंगो नजिकैको एयरपोर्टबाट उडान भरेपछि सोमबार फ्लोरिडा पुगेको देखाएको छ ।
भेनेजुएलाले कब्जाको विरोध गरेको छ र यसलाई ‘डकैतीजस्तो कार्य’ भनेको छ ।
भेनेजुएला सरकारले एक विज्ञप्तिमार्फत यस क्षतिको क्षतिपूर्तिका लागि आफूसँग कानुनी कारबाही गर्ने अधिकार रहेको बताएको छ ।
अमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन् ।
मादुरोसँग सम्बन्धित व्यक्तिहरूले २००२-२०२३ को बीचमा अवैध विमान खरिदका लागि क्यारेबियन शेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको दाबी अमेरिकी अधिकारीहरूको छ । कब्जामा लिइएको विमान फ्लोरिडाको कम्पनीबाट किनिएको हो ।
उक्त विमान अप्रिल २०२३ मा अवैध रूपमा भेनेजुएला भित्र्याइएको थियो ।
मादुरोले जुलाईमा दोस्रोपल्ट आमचुनाव जितेपछि पश्चिमी देशहरूसँग तनाव बढेको छ ।
अमेरिकाले उक्त चुनावमा धाँधली भएको आरोप लगाएको छ ।
FACEBOOK COMMENTS