काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको पहुँच ग्रामीण क्षेत्रमा विस्तार गर्ने उद्देश्यसहित दिगो ग्रुप अफ कम्पनीजले जुम्लामा पहिलो पटक विद्युतीय भ्यानहरू पुर्याएको छ ।
दिगोले जुम्लाका स्थानीय सार्वजनिक यातायातका लागि ९ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै ऐतिहासिक कदम चालेको हो ।
यो उपलब्धिले नेपालको दुर्गम तथा ग्रामीण क्षेत्रसम्म स्वच्छ र दिगो यातायात विस्तार गर्ने दिगोको प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।
DFSK Danfe विद्युतीय भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिनेछन् । यसले स्थानीयवासीलाई स्वच्छ, शान्त र किफायती यात्राको सुविधा दिनुका साथै इन्धनमा निर्भरता घटाउन र स्थानीय वायु प्रदूषण न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
चार्जिङ पूर्वाधारलाई सहज बनाउन दिगोले ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गरिरहेको छ । साथै, आगामी दिनमा जुम्ला बसपार्क, नाग्मा बजार र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउन पाएकोमा गौरव व्यक्त गर्दै भने, ‘‘यसले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ । आगामी दिनमा हामीले यसरीनै देशभर विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्दै जाने छौँ ।’’
स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको उपयोगमा समर्पित दिगोले ‘मिसन जेरो एमिसन’ अभियानअन्तर्गत विद्युतीय सवारीसाधन मात्र नभई यसको सम्पूर्ण इकोसिस्टम निर्माणमा ध्यान केन्द्रित गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारी साधनको बिक्री, वितरण, सेवा, स्पेयर पार्ट्स, लिजिङ, चार्जिङ पूर्वाधारदेखि राजमार्गमा आधुनिक रेस्ट स्टपसम्म उपलब्ध गराउँदै आएको छ ।
दिगोले नेपालको यातायात क्षेत्रमा हरित ऊर्जा प्रवर्द्धन गर्दै देशलाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्यतर्फ लैजान आफ्नो अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS