काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारीसहित ६ जना र एक आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत प्रक्रिया अपनाई राज्यलाई हानि पुर्याइएको निष्कर्ष निकालेको छ ।
सो प्रकरणमा तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुङ्गाना, लेखापाल सावित्री कुमारी गिरी, खरिदार मदनकुमार चौधरी सूडी र ईशिता ट्रेडर्स तथा त्यसका सञ्चालक पशुपतिनाथ पाठकलाई प्रतिवादी बनाइएको छ ।
अनुसन्धानका क्रममा प्रतिस्पर्धाविना सोझै खरिद प्रक्रिया अघि बढाइएको, आवश्यक स्पेसिफिकेसन र लागत अनुमान तयार नगरी योजना स्वीकृत गरिएको तथा कानुनी प्रक्रिया बेवास्ता गरिएको पाइएको आयोगले जनाएको छ । प्रारम्भिक रूपमा करिब ३३ लाख रुपैयाँमा खरिद सम्भव हुँदा पनि मिलेमतोमा ५५ लाखभन्दा बढी रकममा सम्झौता गरिएको उल्लेख छ ।
आयोगका अनुसार नक्कली कागजात प्रयोग गरी ईशिता ट्रेडर्समार्फत खरिद सम्झौता गरिएको र वास्तविक आपूर्ति भने विदेशी कम्पनीमार्फत गराइएको थियो। यसरी कुल ५५ लाख २ हजार ८५४ रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ ।

उक्त प्रकरणमा संलग्न सबैविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
