काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन,न्याय निरूपण गर्ने निकायबिचको समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताए ।
शुक्रवार काठमाडौँमा भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै का.मु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन,न्याय निरूपण गर्ने निकायहरूको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायहरूबिचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्य बिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताएका हुन् ।
उनले फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउन यससँग आबद्ध संस्था वा निकायहरूको सक्षता, निष्पक्षता, व्यावसायिकता र जबाफदेहिता अपरिहार्य रहेको बताए ।
उनले नेपालको फौजदारी कानुनी राज्य बनाउन फौजदारी न्याय प्रशासनको मेरुदण्डको रूपमा रहने सरकारी वकिलहरूको कुशल क्षमता, व्यावसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फौजदारी न्यायप्रणालीले गतिशीलता प्राप्त गर्न सक्ने बताए ।
उनले संवैधानिक कानुनी एवम् संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरू हुँदै आएको बताए । का.मु.प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमसः बिस्तार हुँदै गएको भन्दै धेरै नविनतम विधिशास्त्रिय मान्यताहरु विकसित हुँदै गएको बताए ।
उनले फौजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको बताए । उनले अनुसन्धान र अभियोजनका क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित स्वीकृत र अवलम्वित मानक तथा मापदण्डका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।
उनले पीडितमैत्री एवम् क्षतिपूर्ति सहितको न्याय लगायतका अवधारणाहरु फौजदारी न्याय प्रणालीका अन्तरनिहीत पक्षमा स्थापित हुँदै गएको बताए । उनले यसले अनुसन्धान तथा अभियोजन गर्ने निकायहरुमा पनि सोही अनुरुपको दृष्टिकोण र क्षमता राख्नुपर्ने बताए ।
उनले भने, ‘फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउन यसमा आबद्ध संस्था वा निकायहरूको सक्षमता,निष्पक्षता,व्यावसायिकता र जबाफदेहिता अपरिहार्य रहन्छ । नेपालको फौजदारी कानुनको महत्वपूर्ण भूमिकामा रहेको महान्यायाधीवक्ताको कार्यालय फौजदारी न्याय प्रशासनको मेरुदण्डको रूपमा रहने सरकारी वकिलहरुको कुशल क्षमता व्यवसायीकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फौजदारी न्यायप्रणालीले गतिशीलता प्राप्त गर्नसक्छ । ’
का.मु. प्रधानन्यायधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयको लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताए । उनले अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्तम्भहरु भएको भन्दै यसको सुदृढीकरण बिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने बताए ।
उनले फौजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेको बताए । कार्कीले अपराध अनुसन्धानमा फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु हुन थालेको भन्दै त्यस प्रकारका आशंका र टिप्पणीहरुलाई इन्कार गर्न नहुने बताए ।
उनले भने, ‘फौजदारी न्यायको प्रभावकारीताको लागि मुलतः अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक छ । अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधार स्थम्भहरु हुन् । यसको सु्दृढीकरण बिना फौजदारी न्याय सवल र प्रभावकारी बन्न सक्दैन । फौजदारी मुद्दाको आधार पनि त्यसैमा निर्भर रहने हो । हाम्रो सन्दर्भमा फौजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनमा समस्या र चुनौतीहरु रहेका छन् ।’
उनले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान जान जरुरी रहेको बताए । उनले अनुसन्धान र अभियोजन कर्ता बीचको आपसी सहयोग समन्वय र सहकार्यमा विशेष ध्यान दिँदा मात्रै फौजदारी कानुनको जग बलियो हुने दाबी गरे ।
उनले भने, ‘खास गरी अपराधको अनुसन्धान वैज्ञानिक एवम् प्रविधिमा आधारित हुन नसकेको वस्तुनिष्ठ अभियोजन हुन नसकेको वस्तुगत अभियोजन र अनुसन्धानमा दोषी उम्कने र निर्दोष व्यक्ति फस्ने गरेको कसुर लागेको व्यक्ति थुन्न अनि सुन भन्ने सोचबाट अझै पनि पूर्ण रूपमा मुक्त हुन नसकेको लगायतका फौजदारी मुद्दाको विश्वनीयताप्रति आशंका र टिप्पणीहरु व्यक्त हुने गरेको पाइन्छ ।’
FACEBOOK COMMENTS