काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् र प्रतिनिधिसभा नचाहिएको दललाई संसदमा वा प्रतिनिधिसभामा पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् ।
नेकपा एमालेले पटक पटक संसद् भङ्ग गरेर संविधानको चीर हरण गरेको बताउँदै पौडेलले त्यस्ता पार्टीलाई फेरी पनि संसदमा पठाउनु ठुलो भूल हुने बताएका हुन् ।
आइतबार मध्य नेपाल नगरपालिका वडा नम्बर २, सोतिपसलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन संयोजकसमेत रहेका नेता पौडेलले एमालेतर्फ लक्षित गर्दै आफूले पाएको बहुमतको दम्भ देखाएर पटक–पटक संविधानको उल्लंघन गर्ने र संसद् विघटन गरेर देशलाई अराजकतातर्फ धकेल्ने काम गरेकोले त्यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता पौडेलले अहिलेको अवस्थामा एउटै मात्र पार्टीको बहुमत हुने अवस्था नभएकोले लोकतान्त्रिक बाम गठबन्धन गरेर आएको बताए । देश र संविधान रक्षा गर्नुपर्छ भन्ने शक्ति एक भएर यस्ता लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुको विकल्प नभएको उल्लेख गरे ।
गठबन्धन किन भन्ने विषयमा बोल्दै नेता रामचन्द्र पौडेलले भविष्यमा मिलीजुली सरकार गठन गर्नु नै छ भने अहिले मिलेर किन चुनाव नलड्ने भनेर हामी एक भएका हौँ भन्दै पाँच दलीय गठबन्धनको साझा एजेण्डा भनेको संविधानको रक्षा गर्नु र देशमा परिवर्तन ल्याएको बताए ।
संविधान राष्ट्रको साझा सहमतिको दस्ताबेज भएको उल्लेख गर्दै संविधान बनेपछि त्यसबाट प्राप्त उपलब्धिलाई बचाउनुको साटो नेकपा एमालेले संविधान मिचेर काम गरेकोले त्यस्ता पार्टी र प्रतिनिधिलाई गाउँ गाउँ र जिल्ला जिल्लाबाट परास्त गर्नु आवश्यक रहेको बताए । पटक–पटकको परीक्षण नेपाल जस्तो देशले धान्न नसक्ने हुँदा राष्ट्रिय रूपमास्थिरता कायम गरेर उन्नती गर्न पाउनु पर्दछ भन्ने पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य रहेको बताए ।
उनले गाउँमै उद्योग व्यवसाय, पर्यटनको विकास, उद्योगधन्दाको विस्तार, गाउँमै रोजगारी र आम्दानीका अवसर खोज्नु पर्दछ भन्ने मुख्य ध्येय रहेकोले सोही अनुसार काम गर्न गठबन्धनलाई जिताउनु पर्ने उनको धारणा थियो ।
त्यसको लागि लमजुङबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका देव प्रसाद गुरुङ र प्रदेश सभा क मा नेपाली काँग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली काँग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे ।
नेता पौडेलले हामी सबैलाई सुशासन चाहिएको छ भन्दै सुशासनको लागि गठबन्धन दृढ रहेको बताए । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत हुन् ।
मध्य नेपाल नगरपालिका वडा नम्बर २ का नेपाली काँग्रेसका सभापति ऋषिराम पुरीको अध्यक्षतामा भएको उक्त चुनावी सभामा लमजुङबाट नेपाली काँग्रेसका दीलबहादुर घर्ती, प्रतिनिधि सभाका उम्मेदवार देवप्रसाद गुरुङ, प्रदेश सभाका उम्मेदवार हरु डा. टकराज गुरुङ र भेष बहादुर पौडेलले देशले लामो समयपछि प्राप्त गरेको संविधानको रक्षा र सुशासनको लागि पाँच दलीय गठबन्धनलाई जिताएर पठाउनुको विकल्प अब नरहेको बताएका थिए ।
FACEBOOK COMMENTS