काठमाडौं । बागलुङको पुरानो सदरमुकाम हो, गलकोट । गलकोट बजारमा पछिल्लो समय तीव्र गतिमा बस्ती विस्तार भइरहेको छ । बस्ती विस्तारसँगै सवारी साधनको चाप पनि उत्तिकै छ । दैनिक हजारौँ मानिस आवतजावत हुन थालेपछि गलकोटमा बसपार्कको अभाव खड्केको हो । बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप बढ्दै जाँदा बसपार्कका आवश्यकता महसुस भएको छ ।
भौगोलिक हिसाबले पछाडि परे पनि गलकोटमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग परेपछि विकासका ढोका खुलेका छन् । राजमार्गका कारण छोटो समयमै अनपेक्षित रुपमा विकास भएपछि यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने देखिएको छ । दैनिकजसो सयौँ साना तथा ठूला सवारीसाधान व्यवस्थापन गर्न निकै चुनौती थपिएको छ । बढ्दो अव्यवस्थित बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । जसमध्ये पार्किङ पनि चुनौतीका रुपमा रहेकाले बसपार्क आवश्यक भएको गलकोट नगरपालिकाका प्रवक्त तथा वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । बसपार्कका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न समस्या भएको भण्डारीको भनाइ छ । यद्यपि बसपार्कका लागि जग्गा खोज्ने काम भने भइरहेको उनको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको भण्डारीले जानकारी दिए ।
“पछिल्लो दशक गलकोटको जनघनत्व बढी भयो, सवारीसाधान पनि बढेका छन्”, उनले भने , “अब यहाँ बसपार्क अनिर्वाय भयो, यसका लागि जग्गा व्यवस्थापनको प्रयास भइरहेको छ ।” जग्गा व्यवस्थापन भएपछि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरी बसपार्क निर्माण गर्ने भण्डारीले बताए । “गलकोट बजार पहिलेदेखिनै साँघुरो थियो, लोकमार्ग जोडिएपछि भवन थपिए, व्यापार व्यवसाय बढ्यो, सवारी साधन पनि थपिए, जसले गर्दा बजारमा पार्किङको चुनौती थपिएको छ”, उनले भने । हाल दैनिक गलकोट बजार भएर लोकमार्गमा सयौँ सवारीसाधान गुड्ने उनको भनाइ छ ।
व्यवसायी छबिलाल शर्माले दिनप्रति दिन गाडी र मान्छेको चाप बढेकाले बजार अस्तव्यस्त भएको बताए । शर्माले भने , “गलकोट बजारमा व्यवसाय गर्न समस्या हुँदै गएको छ, बजार व्यवस्थापन पनि राम्रोसँग हुनसकेको छैन, लोकमार्गमा चल्ने र यहाँबाट पोखरा, काठमाडौँ, बुटवल जाने गाडीको भीड उस्तै हुन्छ ।” शर्माले सवारी साधनको चाप बढेपछि गलकोट क्षेत्रमा एउटा बसपार्क आवश्यक रहेको बताए । गलकोटमा एक दशक अघिसम्म सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरले बजार भरिएको उनको भनाइ छ । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको उनी बताउछन् ।
गाडी चालक हरिबहादुर खड्काले बजारमा पार्किङको व्यवस्था नहुँदा यात्रु र चालकले सास्ती खेप्नु परेको बताउछन् । उनले बजार सानो भए पनि गाडीको चापले गर्दा सामान अनलोड गर्न र यात्रु खोज्न समस्या भइरहेको बताए । बजारको निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्ने खड्काको भनाइ छ । उनी भन्छन्( “बजारमा गाडी कहाँ पार्किङ गर्ने भन्ने चिन्ता हुन्छ, बजारमा धेरै गाडी राख्ने ठाउँ छैन, सरकारले यहाँ एउटा बसपार्क बनाइदिए हामीहरु जस्ता चालकलाई सजिलो हुन्थ्यो ।”
FACEBOOK COMMENTS